२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

भारतमा एकैदिन २ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिए, १ हजार ३४१ जनाको मृत्यु

एजेन्सी शनिबार ०४, बैशाख २०७८ ११:४६

भारतमा एकैदिन २ लाख ३४ हजारभन्दा बढी संक्रमित थपिए,  १ हजार ३४१ जनाको मृत्यु

नयाँदिल्ली । भारतमा कोरोना संक्रमणले हरेक दिन नयाँ रेकर्ड बनाउन थालेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी २ लाख ३४ हजार ६९२ नयाँ संक्रमित थपिएका छन् ।

योसँगै भारतमा लगातार तेस्रो दिन संक्रमितको संख्या दुई लाख नाघेको छ । त्यसैगरी गरी पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ७५ हजार ६ सय ४९ पुगेको छ । त्यस्तै भारतमा अहिलेसम्म संक्रमितको संख्या १ करोड ४५ लाख २६ हजार नाघेको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार संक्रमण पुष्टि भएकामध्ये १ करोड २६ लाखभन्दा बढी निको भएका छन् । भारतमा सक्रिय संक्रमितको संख्या १६ लाख ७९ हजारभन्दा बढी रहेको छ । भारतमा अहिलेसम्म ११ करोड ९९ लाख ३७ हजार ६ सय ४१ डोज खोप लगाइसकिएको छ ।

पछिल्ला दिनमा महाराष्ट्र, दिल्ली, गुजरात, मध्यप्रदेश, उत्तरप्रदेश, आन्ध्रप्रदेश, तमिलनाडु, बिहारलगायतका राज्य संक्रमण फैलने क्रम तीव्र बनेको छ । संक्रमण रोक्न विभिन्न राज्यहरुमा कर्फ्यु र लकडाउन गरिएको छ । भारतको राजधानी दिल्लीमा सप्ताहान्तमा कर्फ्यु आदेश जारी गरिएको छ । शुक्रबार राति दस बजेदेखि सोमबार बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने छ ।

संक्रमण बढेसँगै अस्पतालहरुमा किरामीहरुको चाप निकै बढेको छ । बेड अभावका कारण बिरामीहरु अस्पतालको गेटमै घण्टौं कुर्न बाध्य छन् । केहीले त उपचार नपाएर नै ज्यान गुमाउनुपरेको छ । त्यसैगरी रेमडेसिभिर र अक्सिजनलगायतका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरुको चरम अभाव हुन थालेको छ ।

संक्रमण भयावह बनेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले हरिद्वारामा जारी कुम्भ मेलालाई स्थगन गर्न आग्रह गरेका छन् । मोदीले शनिबार बिहान ट्वीट गर्दै आयोजकलाई मेला स्थगन गर्न भनेको बताएका छन् । उनले मेलाका आयोजकमध्येको जुना अखडाका प्रमुख स्वामी अवधेशानानन्द गिरीलाई फोन गरेर त्यस्तो आग्रह गरेको ट्विटमा उल्लेख गरेका छन् ।

‘दुई वटा शाही स्नान भइसकेको छ, मैले कोरोना संकटलाई ध्यान राख्दै अबको शाही स्नानलाई प्रतिकात्मक बनाउन प्रार्थना गरेको छु जसले यो संकटविरुद्ध लडाइँमा एउटा तागत मिल्नेछ’ मोदीले ट्वीटमा भनेका छन् । तर, आयोजक उत्तराखण्ड राज्य सरकारले भने कुम्भ मेला स्थगन गर्ने सम्बन्धमा कुनै निर्णय लिएको छैन । कुम्भ मेलामा सहभागी भएकाहरुमध्ये कैयौं साधु र तीर्थालुहरुलाई संक्रमण पुष्टि भइसकेको छ । संक्रमणकै कारण निर्वाणी अखाडाका प्रमुख महाण्डलेश्वर कपिल देवको बुधबार निधन भएको थियो ।

अघिल्लो सोमबारको शाहीस्नानमा पूर्व राजा ज्ञानेन्द्र पनि सहभागी भएका थिए । उनी श्रीपन्चायती निरन्जनी अखडाका पिठाधीश आचार्य महामण्डलेश्वर स्वामी कैलशानन्द गिरीको विशेष निम्तोमा कुम्भमा सहभागी भएका हुन् । हरेक १२ वर्षमा गंगा नदी किनारमा कुम्भ आयोजना हुँदै आएको छ ।


#काेराेना संक्रमण #भारत #नरेन्द्र माेदी

प्रतिकृया दिनुहोस