२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

‘अम्बाका पात उमालेर गार्गल गरिदिउँ, घाँटीमा बसेको कोरोना चट’

- विशेष खबर बिहिबार २६, चैत २०७७ ०७:११

‘अम्बाका पात उमालेर गार्गल गरिदिउँ, घाँटीमा बसेको कोरोना चट’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तातो पानीको बाफ लिने, नुन, पानीले कुल्ला गर्ने बानी बसाल्दा काेराेना संक्रमणबाट जोगिन सकिने बताएका छन् । 

नेपाल चेम्बर अफ कमर्सको ७०औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ विरुद्धको खोपले पनि सतप्रतिशत काम नगर्ने भएकाले सावधानी अपनाउनु नै सबैभन्दा सुरक्षित विधि रहेको बताएका हुन् । ‘अलि तातोतातो पानी लिँदै नस लिँदै नाक स्याकस्याक गरेर सफा गरिदिऔं, पहिले गएर नाकमा बस्ने हो कोरोना त्यहींबाट फालिदिएपछि चैट,' उनले थपे, 'नुन, पानीले गार्गल गरिदियो, सकिन्छ भने अम्बाका दुईवटा पात उमालिदिउँ, बेसरी गार्गल गरिदिउँ घाँटीमा बसेको चट, स्टिम लिइदिउँ फोक्सोबाट चट, त्यत्ति गर्दाखेरी धेरै सुरक्षित भइन्छ । अब हन्ड्रेड पर्सेन्ट सुरक्षित त भ्याक्सिनले पनि गर्दैन ।’

बेसार पानी, अम्बाका पात लगायत घरेलु विधिबाट कोरोना निको हुने प्रधानमन्त्री ओलीले पटक-पटक दाबी गर्दै आए पनि चिकित्सकहरु भने यसको पुष्टि भइनसकेको बताउँछन् ।

पछिल्लो समय भारतमा कोभिड संक्रमण दर बढ्दै गएको र खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढेकोले सचेत बन्न उनले आग्रह गरे । उनले अहिले नै सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति आउन सक्ने भएकाले सबैले सचेत भई सावधानीका उपायहरु अपनाउनुपर्ने बताए ।

भौतिक दुरी कायम गर्ने, मास्क लगाउने र हातमुख धुने लगायतका काम गर्दा कोभिड संक्रमणबाट जोगिन सकिने उनको भनाइ थियो । उनले भने, ‘कोभिड १९ को सन्दर्भमा म भन्न चाहन्छु । हाम्रो जनजीवनलाई ठप्प पनि नगरौं तर बाध्य भएरै ठप्प पार्न पर्ने स्थिति आउन सक्छ यदि हामी सावधान भएनौं भने । हामी सावधान हुनुपर्छ अहिलेदेखि, दुरी कायम गर्ने, मास्क लगाउने । किञ्चित हामी काभिड–१९ लाई अवसर नदिऔं ।’

अन्य मुलुकको तुलनामा नेपालको अर्थतन्त्रमा कोभिड–१९ को प्रभाव कम परेको दाबी पनि प्रधानमन्त्री ओलीले गरे । कोभिडको कारण नेपालको पर्यटन क्षेत्र सबैभन्दा धेरै प्रभावित भएको र अर्थतन्त्रमा धक्का भएको भए पनि उठ्नै नसक्ने गरी भने असर नपरेको बताए ।


#प्रधानमन्त्री #केपी शर्मा ओली #काेराेना संक्रमण

प्रतिकृया दिनुहोस