२०८२ असार १८ गते बुधबार | 2 July, 2025

चितवनमा बस र स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु

- विशेष खबर शनिबार १४, चैत २०७७ ०८:५७

चितवनमा बस र स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु

चितवन । जिल्लाको भित्री सडकमा शनिबार साँझ बससँग स्कुटर ठोक्किँदा बाबुछोरीसहित तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनैजना स्कुटरमा चढेकाहरु हुन् । 

चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भरतपुर महानगरपालिका–२२ पटिहानी पकौडी बजारमा सवा ६ बजेतिर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका भरतपुर–६ गीतानगर बस्ने अन्दाजी ४५ वर्षका मोहन अधिकारी, उनकी १७ वर्षीया छोरी बिनिसा र मोहनका दाइकी छोरी १७ वर्षीया दिविसा अधिकारीको उपचारका क्रममा निधन भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रहेका प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य थापाले जानकारी दिए । उनीहरु तीनैजना मोहनले चलाएको ना ४० प ७०८२ नम्बरको स्कुटरमा सवार थिए ।

स्कुटरविपरीत दिशाबाट जगतपुरदेखि भरतपुरतर्फ आउँदै गरेको ना ५ ख २१५० नम्बरको बससँग ठोक्किएको डिएसपी थापाले बताए । दुर्घटनामा गम्भीर घाइते भएका तीनैजनालाई भरतपुरको सरकारी अस्पतालमा पठाइएको थियो ।

उपचारको क्रममा सोही अस्पतालमा साँझ ७ बजेतिर उनीहरुको निधन भएको डिएसपी थापाले जानकारी दिए ।

बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएकाे छ ।


#दुर #सवारी दुर्घटना #मृत्यु

प्रतिकृया दिनुहोस