२०८१ मङि्सर ०८ गते शनिबार | 23 November, 2024

राष्ट्रपति भण्डारीसँग बंगलादेशी प्रधानमन्त्रीको भेटवार्ता

- रासस सोमबार ०९, चैत २०७७ ०४:१९

राष्ट्रपति भण्डारीसँग बंगलादेशी प्रधानमन्त्रीको भेटवार्ता
बङ्गलादेशको राजकीय भ्रमणका सिलसिलामा राष्ट्रपति विद्यादेवी भण्डारीसँँग आज ढाकास्थित होटेल कन्टिनेन्टलमा शिष्टाचार भेटवार्ता अघि स्वागत गर्दैै बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना । तस्बिरः रासस

ढाका । बंगलादेशको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीसँग आज राजधानी ढाकास्थित होटेल कन्टिनेन्टलमा बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।  

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र बंगलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र, बंगलादेशका विदेशमन्त्री डा एके अब्दुल मोमेनसहित दुवै देशका उच्चस्तरीय प्रतिनिधि सहभागी भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, पारस्परिक सहयोग र सहकार्यका विषयमा कुराकानी भएको छ । 

आजै बंगलादेशका विदेशमन्त्री डा मोमेनले राष्ट्रपति भण्डारीसँग अलग्गै शिष्टाचार भेटवार्ता गरेका छन् । बंगलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दीका अवसरमा आयोजित विशेष समारोहमा बंगलादेशी राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज बंगलादेश गएकी थिइन् । 

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विशेष विमानबाट यहाँ आइपुग्नुभएका राष्ट्रपति भण्डारीलाई बङ्गलादेशका राष्ट्रपति हमिदले ढाकास्थित हजरत सहजलाल अन्तरराष्ट्रिय विमानस्थलमा  स्वागत गरेका थिए।

राष्ट्रपति भण्डारी आजै बंगलादेशका राष्ट्रपति हमिदसँग द्विपक्षीय भेटवार्ता हुनेछ भने द्विपक्षीय सम्झौता समारोहमा सहभागी पनि हुने छिन् । दुई देशबीच पर्यटन, कृषि र संस्कृतिका क्षेत्रमा आपसी सम्झौता हुने तयारी छ ।

राष्ट्रपतिको भ्रमण दलमा राष्ट्रपतिकी छाेरी उषाकिरण भण्डारी, परराष्ट्रमन्त्री  ज्ञवालीलगायत उच्च सरकारी अधिकारी सम्मिलित हुनुहुन्छ । भ्रमण टोलीमा १९ कलाकर्मी र तीन सञ्चारकर्मीसहित ५४ जना सदस्य छन् ।  


#बंगलादेश #विद्यादेवी भण्डारी

प्रतिकृया दिनुहोस