२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

म्यान्मारमा एकै दिन ३८ प्रदर्शनकारी मारिए

एजेन्सी सोमबार ०२, चैत २०७७ १०:१९

म्यान्मारमा एकै दिन ३८  प्रदर्शनकारी मारिए

काठमाडौं । सैनिक कूपछि म्यान्मारमा चर्किएको विरोध प्रदर्शनमा आइतबार एकैदिन ३८ जना प्रदर्शनकारी मारिएका छन् । सेनाले सत्ता हातमा लिएपछि त्यहाँ भएको प्रदर्शनमा एकै दिन यति धेरै जनाको ज्यान गएको यो पहिलोपटक हो ।

द एसिस्टेन्स एसोसिएसन फर पोलिटिकल प्रिजनर्स (एएपीपी)का अनुसार आइतबार भएको हिंसात्मक झडपमा परी म्यान्मारको मुख्य सहर यांगुनमा मात्रै २१ जनाको मृत्यु भएको छ । देशका अन्य सहरहरूमा समेत गरी ३८ जना प्रदर्शनकारीको ज्यान गएको र दर्जनौं घाइते भएको एएपीपीले जनाएको छ ।

यस्तै, आइतबार प्रदर्शनकारीहरूले चिनियाँ लगानीमा खुलेका उद्योग, व्यवसाय तथा कलकारखानाहरूमा आक्रमण गरेको बीबीसीले जनाएको छ । हलिंग थारयार क्षेत्रमा प्रदर्शनकारीहरुले चिनियाँ लगानीमा खुलेका व्यवसायलाई लक्षित गरेर आक्रमण गरेपछि उक्त क्षेत्रमा सेनाले कर्फ्यु लगाएको छ ।

प्रदर्शनकारीहरुले चीनले सैनिक कू को समर्थन गरेको भन्दै चिनियाँ लगानीका व्यापार–व्यवसायलाई निसाना बनाएका हुन् ।

यसैबीच,त्यहाँस्थित चिनियाँ दूतावासले पनि केही उद्योगहरुमा आक्रमण,लुटपाट तथा केही चिनियाँ कर्मचारीहरु घाइते भएको पनि जनाएको छ । दूतावासले उक्त क्षेत्रमा प्रदर्शन रोक्न आग्रह गर्दै चिनियाँ कम्पनी र चिनियाँ नागरिकको रक्षा गर्न आग्रह गरेको छ ।

सेनाले फेब्रुअरी १ मा सत्ता कब्जा गरेयता म्यान्मारमा दैनिकजसो विरोध प्रदर्शन हुँदै आएका छन् । हालसम्म भएका प्रदर्शनमा मृत्यु हुनेको संख्या सय नाघिसकेको छ । आइतबार साँझसम्म २ हजारभन्दा बढी पक्राउ परिसकेको जनाइएको छ।

संयुक्त राष्ट्रसंघका अनुसार पक्राउ पर्नेमा सांसद, पत्रकार, अधिकारकर्मीसमेत छन् । एम्नेस्टी इन्टरनेसनल लगायत मानवअधिकारवादी संस्थाहरूका अनुसार प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले घातक हतियार प्रयोग गरिरहेका छन्। सेनाले सत्ता हातमा लिएसँगै एनएलडी नेत्री आङ सान सुचीलाई पक्राउ गरेपछि म्यान्मारमा आन्दोलन भइरहेको छ। गत वर्षको निर्वाचनमा एनएलडी बहुमतसहित विजयी भएको थियो । तर सेनाले उक्त निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आएको छ ।

स्वतन्त्र अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले भने सन् २०२० को नोभेम्बरमा भएको निर्वाचनमा धाँधली नभएको बताउने गरेका छन् । उनीहरूले निर्वाचनका क्रममा कुनै पनि किसिमको अनियमितता भएको सूचना वा प्रमाण नपाएको जनाएका छन् । जननिर्वाचित सरकारलाई अपदस्थ गर्दै म्यान्मारमा सेनाले शासन हातमा लिँदै सैन्य कू गरेको डेढ महिना बितिसकेको छ ।


#म्यान्मार #विरोध प्रदर्शन

प्रतिकृया दिनुहोस