२०८१ बैशाख २२ गते शनिबार | 4 May, 2024

भाेलि शिवरात्रि, पशुपतिमा यस्ताे छ तयारी

- विशेष खबर बुधबार २६, फागुन २०७७ १२:४४

भाेलि शिवरात्रि, पशुपतिमा यस्ताे छ तयारी

aकाठमाडौं । शिवरात्रिमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र पशुपतिनाथको दर्शन गर्न पाइने भएको छ । लाखौंको संख्यामा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव प्रदीप ढकालले बताए ।

‘भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्नेछ । सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गर्नेछौं,’ उनले भने, ‘बिहीबार परेको शिवरात्रिका लागि तयारी लगभग सकिएको छ ।’ उनका अनुसार दर्शनार्थीको लाइन व्यवस्थापन, सुरक्षालगायतका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र कोषका सुरक्षाकर्मी गरी १० हजार सुरक्षाकर्मी खटिनेछन् । त्यसबाहेक नेपाल स्काउटका ४ हजार स्वयंसेवक पनि सक्रिय रहनेछन् । सुरक्षा, आवास, भोजनलगायतको व्यवस्थापनका लागि ११ वटा समिति बनाइएको छ ।

दर्शनका लागि पशुपतिनाथ मन्दिरका चारै दिशाका ढोका खुला रहनेछन् । प्रत्येक ढोकाका लागि भिन्न–भिन्न स्थानबाट लाइन बस्ने व्यवस्था मिलाइने ढकालले बताए । ‘जुन दर्शनमार्गबाट प्रवेश गरेको हो, त्यही मार्गबाट फर्किने व्यवस्था गरिएको छ,’ उनले भने, ‘दर्शनमार्गमा पायक पर्ने गरी ५ स्थानमा जुत्ताचप्पल राख्ने ठाउँ हुनेछन् ।’

पशुपति क्षेत्र विकास कोषको कार्यालय, सिफल चौर, महानगरीय प्रहरी प्रभाग गौशाला परिसर, गुह्येश्वरी, तिलगंगा करिडोरका विभिन्न स्थानमा गरी ५ ठाउँमा सवारी पार्किङको व्यवस्था गरिएको छ । शिवरात्रिका दिन चक्रपथअन्तर्गत विमानस्थलदेखि चाबहिलसम्म सडकको आधा भागमा मात्र सवारी सञ्चालन गर्न पाइनेछ ।

नियमित रुटका र निजी सवारीबाहेक मालवाहक साधनले प्रवेश पाउने छैनन् । अघिल्ला वर्षहरूमा तीनकुनेदेखि चाबहिलसम्म पूरै सडक बन्द गरिन्थ्यो । ढकालका अनुसार यसपटक सडक छेउमा पसल राख्नसमेत निषेध गरिएको छ ।

कोषले पशुपति क्षेत्रमा गाँजा बिक्रीवितरण र सेवनमा समेत रोक लगाएको छ । ‘पशुपति क्षेत्र कानुनले नै मांस, मदिरा तथा कुनै पनि प्रकारका नशालु पदार्थ निषेधित क्षेत्र भएकाले महाशिवरात्रिमा समेत गाँजा, भाङ, जाँड, रक्सीजस्ता नशालु पदार्थको बिक्रीवितरण, ओसारपसार, भण्डारण र प्रयोग नगर्न अनुरोध गरेका छौं,’ ढकालले भने ।

पशुपति क्षेत्रभित्र प्लास्टिकका सामान लैजान पनि नपाइने भएको छ । विभिन्न संघसंस्थाले भोजन, पानी, चिया वितरण गर्दा प्लास्टिकजन्य फोहोर बढी हुने गरेको भन्दै त्यसमा विकल्प खोज्न भनिएको ढकालको भनाइ छ । शिवरात्रिका दिन ९५ वटा संस्थाले भक्तजनलाई निःशुल्क भोजन गराउने अनुमति लिएका छन् ।

वनकाली, तिलगंगा र हंसमण्डपलाई आवास क्षेत्र तोकेर खाना र पानीको व्यवस्था गरिनेछ । साधुसन्तका लागि पनि निःशुल्क भोजन, पानी, चिया र बसोबासको व्यवस्था मिलाइएको छ । शिवरात्रि सकिएपछि गुठी संस्थानले निर्धारण गरेअनुसारको रकम बाटो खर्च दिएर साधुसन्त बिदाइको कार्यक्रमसमेत राखिएको कोषले जनाएको छ ।

कोरोना महामारीका कारण यो वर्ष भारतीय पर्यटकको संख्यामा कमी आउने कोषको अनुमान छ । स्वदेशी दर्शनार्थीको उपस्थिति भने बढ्ने देखिएको ढकालले बताए । ‘सीमा पूरै नखुलेकाले भारतीय भक्तजनको संख्या घट्ने देखिन्छ,’ उनले भने, ‘तैपनि ८ लाख भक्तजन आउने हाम्रो अनुमान छ ।’

 


#पशुपतिनाथ #शिबरात्री

प्रतिकृया दिनुहोस