२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

विश्वभर ३५ हजार बढीको मृत्यु, सात लाख ३९ सङ्क्रमित

सोमबार १७, चैत २०७६ ०८:५१

विश्वभर ३५ हजार बढीको मृत्यु, सात लाख ३९ सङ्क्रमित

एजेन्सी ।  कोरोनाभाइरसको विश्वव्यापी प्रकोपका कारण सोमबारसम्म सात लाख ३९ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ ।

अन्तरराष्ट्रिय समाचार संस्थाहरूका अनुसार सोमबार साँझसम्म ३५ हजार १५ जनाको सङ्क्रमणका कारण मृत्यु भएको छ । सङ्क्रमणका कारण विश्वभर विगत २४ घण्टामा मात्रै एक हजार ४९ जनाको मृत्यु भएको अमेरिकास्थित जोन हकिन्स विश्वविद्यालयले सोमबार जानकारी गराएको छ । पछिल्ला दिनमा कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा अत्यधिक बढेको दखिएको छ ।

दुई हप्ता पहिले अमेरिकामा छिटफुटरूपमा सङ्क्रमण भेटिने गरेकोमा यो सङ्ख्या गत हप्ताको अन्त्यतिर अत्यधिक बढेको थियो । अमेरिकाले गत हप्ता अत्यधिक व्यक्तिको सङ्क्रमण परीक्षण भएका कारण सङ्ख्या अत्यधिक बढेको जनाएको छ । कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या सबैभन्दा बढी इटलीमा देखिएको छ ।

इटलीमा अहिलेसम्म १० हजार ७७९ व्यक्तिको मृत्यु भएको छ भने ९७ हजार ६८९ व्यक्ति सङ्क्रमित भएका छन् । स्पेनमा ८५ हजार १९५ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ भने सात हजार ३४० जनाको मृत्यु भएको छ ।

त्यस्तै चीनमा ८१ हजार ४७० सङ्क्रमित भएकोमा तीन हजार ३०४ व्यक्तिको मृत्यु भएको छ । चीनमा पछिल्ला केही हप्तादेखि मृत्युदर एकल अङ्कमा रहने गरेकोे छ । चीनमा विगत २४ घण्टामा थप ३१ जना सङ्क्रमित भेटिएका र अधिकांश विदेशबाट चीन आएका व्यक्ति रहेका छन् भने यो अवधिमा चार जनाको मृत्यु भएको छ ।

चीनले यसअघि नै छिटफुट घटनाबाहेक कोरोनासङ्क्रमण नियन्त्रणमा आइसकेको बताएको छ । जर्मनीमा सङ्क्रमित ६३ हजार ७९पुष्टि भएको छ भने ५४५ जनाको मृत्यु भएको छ । इरानमा ४१ हजार ४९५ सङ्क्रमण र दुई हजार ७५७ जनाको मृत्यु भएको छ । फ्रान्समा ४० हजार १७४ व्यक्तिमा सङ्क्रमण, दुई हजार ६०६ जनाको मृत्यु, बेलायतमा १९ हजार ५२२ व्यक्तिमा सङ्क्रमण, एक हजार २२८ जनाको मृत्यु भएको छ ।

एशियाली मुलुकहरूमा चीन र इरानबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी सङ्क्रमितको सङ्ख्या नौ हजार ६६१ रहेको छ भने १५८ जनाको मृत्यु भएको छ । जापानमा १८६६ व्यक्तिमा सङ्क्रमण र ५४ जनाको मृत्यु भएको छ ।

दक्षिण एशियामा सबैभन्दा बढी सङ्क्रमित पाकिस्तानमा एक हजार ५० सङ्क्रमित छन् भने २० जनाको मृत्यु भएको छ । भारतमा एक हजार ७१ जना सङ्क्रमित छन् भने २९ जनाको मृत्यु भएको छ । दक्षिण एशियाली अन्य मुलुकमा भने सङ्क्रमितको सङ्ख्या न्यून रहेको छ ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस