२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

भारत र इंग्ल्यान्डबीचकाे निर्णायक तेस्रो टेस्ट सुरु हुँदै

एजेन्सी बुधबार १२, फागुन २०७७ ०८:५८

भारत र इंग्ल्यान्डबीचकाे निर्णायक तेस्रो टेस्ट सुरु हुँदै

अहमदाबाद । भारत र इंग्ल्यान्डबीच शृंखलामा निर्णायक साबित हुन सक्ने तेस्रो टेस्ट बुधबार सुरु हुँदै छ । खेल हुनेछ विश्वकै सबैभन्दा ठूलो क्रिकेट रंगशालामा । दुई तीव्र गतिका बलर भारतका इशान्त शर्मा र इंग्ल्यान्डका जिमी एन्डरसनको भनाइ मान्ने हो भने दुई टिमबीच पछिल्लो समय प्रतिद्वन्द्विता खुबै चर्को छ । यसपल्ट अवसर भिन्न खालको छ । चार टेस्टको शृंखला अहिले १–१ को बराबरीमा छ । दुवैलाई यो खेल जित्न आवश्यक छ ।

यो जितको उद्देश्य हुनेछ, विश्व टेस्ट च्याम्पियनसिपको फाइनल प्रवेश । जहाँ प्रतिद्वन्द्वी टिम रहनेछ न्युजिल्यान्ड । शृंखला जितेर फाइनल पुग्नका लागि भारतलाई यो टेस्ट जिते पुग्छ, तर इंग्ल्यान्डलाई भने ३–१ को जित्न आवश्यक छ । शृंखला बराबरीमा अस्ट्रेलियाको भाग्य खुल्नेछ । उसले नै फाइनल खेल्नेछ । दुवै टिमले सुरुआती एक–एक टेस्ट जितेको स्थितिमा दुई पक्षबीच तनाव पनि छ । एन्डरसन भन्छन्, ‘हामीलाई दुई टेस्ट जित्न आवश्यक छ, हाम्रा लागि फाइनलको समीकरण स्पष्ट छ ।’

इंग्ल्यान्डले जितेको २ सय १७ रनको पहिलो टेस्टमा एन्डरसनले भारतका प्रमुख ब्याट्सम्यानको विकेट लिएका थिए । त्यसको एक सातापछि नै चेन्नईमा इंग्ल्यान्ड ३ सय १७ रनले पराजित भयो । त्यसलाई टिमले सामना गरेको घोर निराशा मान्छन् एन्डरसन । अहिले इंग्ल्यान्ड त्यो चोटमय हार बिर्सेर नयाँ सुरुआत लिने पक्षमा छ । एन्डरसन थप्छन्, ‘हामी निकै रोमाञ्चित छौं, किनभने अहिले टेस्ट च्याम्पियनसिपको फाइनल छनोटको सम्भावनामा छौं ।’ यसका लागि इंग्ल्यान्डले भारतलाई उसकै भूमिमा हराउनुपर्नेछ, जुन धेरै टिमले गर्न सकेका छैनन् । यही खेलमा भारतका ३२ वर्षीय भेट्रान बलर शर्माले आफ्नो सय टेस्ट खेल्नेछन् । उनी भन्छन्, ‘मेरो मनमा खाली एउटै तथ्य मात्र छ । त्यो हो, शृंखलाका बाँकी दुई टेस्ट जित्ने । अनि यही उपलब्धिसँग विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल्ने । अहिले म टेस्ट क्रिकेटमात्र खेलिरहेको छु, यस्तोमा मेरा लागि यो विश्वकपजस्तै हो । यदि हामी फाइनल पुग्छौं र त्यसमा विजयी हुन्छौं भने यो वान डे विश्वकप जितेजस्तै हो ।’

तीव्र गतिका बलर उमेश यादवलाई अहमदाबादमा हुने बाँकी दुई टेस्टका लागि टिममा राखिएको छ । उनी खुट्टाको चोटमुक्त हुँदै फिटनेस परीक्षणमा उत्तीर्ण भइसकेका छन् । सरदार पटेल स्टेडिमयको दर्शक क्षमता १ लाख १० हजार छ । त्यहाँ दर्शकको माहौल छुट्टै हुनेछ । फेब्रुअरीमा यही स्टेडियममा पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत भ्रमणका क्रममा र्‍याली गरेका थिए । यसै मैदानमा हुने पहिलो टेस्टका लागि खाली ५० हजार टिकटमात्र बिक्री हुनेछ ।

अझ यो टेस्ट दिवारात्रि छ, त्यसैले खेलका क्रममा पिन्क बल र फ्लडलाइट प्रयोग हुनेछ । रंगशालाको आकारले खेलाडीलाई पनि भयभीत बनाउन सक्नेछ । यस्तै मान्छन् भारतीय ब्याट्सम्यान रोहित शर्मा । जतिजति बेला नयाँ रंगशालामा पहिलोपल्ट खेल्नुपर्ने हुन्छ, त्यो खेलाडीका लागि भने ठूलो चुनौती हुने गर्छ । नयाँ रंगशालासँग अभ्यस्त हुन नै समय लाग्ने गर्छ ।’ भारतका लागि पिन्क बल क्रिकेट धेरै सफल रहेको छैन ।

 


प्रतिकृया दिनुहोस