२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

असार १ देखि नयाँ शैक्षिक सत्र !

- विशेष खबर आइतबार ०२, फागुन २०७७ ०६:१७

असार १ देखि नयाँ शैक्षिक सत्र !

काठमाडाैं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु शैक्षिक सत्र जेठमा सक्ने निर्णय गर्ने तयारी गरेको छ।

शिक्षा नियमावलीमा वैशाखदेखि चैतसम्म शैक्षिक सत्र रहने उल्लेख छ। कोरोना महामारीका कारण यस वर्षको शैक्षिक सत्र प्रभावित बनेपछि दुई महिना थप गर्न लागिएको छ । यसबारे मन्त्रिपरिषदले शैक्षिक सत्र कायम गर्ने जिम्मेवारी मन्त्रालयलाई नै दिएको छ। मन्त्रालयले नियमावली संशोधन गर्न कानुन मन्त्रालयमा पठाएको छ।

शिक्षा सचिव गोपीनाथ मैनालीका अनुसार राजपत्रमा प्रकाशित भएपछि शैक्षिक सत्र कहिलेसम्म कायम गर्ने भन्नेबारे निर्णय हुनेछ। ‘शिक्षा नियमावली २०५९ लाई संशोधन गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृत गरेको छ। महामारीजस्ता विपदका बेला शिक्षा मन्त्रालयले शैक्षिक सत्र तय गर्न सक्ने अधिकार मन्त्रिपरिषदले दिएको छ,’ उनले भने।

माघ २६ मा बसेको मन्त्रिपरिषद बैठकले माध्यमिक शिक्षा परीक्षा (एसईई) राष्ट्रिय परीक्षा बोर्डले पुरानै ढाँचाअनुसार गर्ने निर्णय गरेको थियो। गत वर्ष कोरोनाका कारण एसईई परीक्षा आन्तरिक मूल्यांकनबाट भएको थियो। अब भने एसईईलगायत विद्यालय तहका परीक्षाहरू विद्यार्थीलाई भौतिक रूपमा उपस्थित गरेरै गर्ने तयारी छ।

शिक्षा नियमावलीको संशोधन राजपत्रमा प्रकाशित भएपछि शैक्षिक सत्र कायम गर्नेबारे औपचारिक निर्णय हुने मैनालीले बताए। ‘जेठभरमा सबै प्रकारका परीक्षा सक्न पाए हुन्थ्यो भनेर काम गरिरहेका छौं,’ आइतबार शिक्षा पत्रकार समाजले गरेको अन्तर्क्रियामा उनले भने, ‘एसईई, कक्षा ११ र १२ का परीक्षा कहिले हुन्छन् भन्ने पनि बैठक बसेर छिट्टै टुंगो लगाउँछौं।’

यस वर्ष १४ महिनालाई शैक्षिक सत्र मान्ने र अर्को वर्ष १० महिनामै शैक्षिक सत्र सक्ने गरी तयारी गरिएको छ। ‘जेठमा यो शैक्षिक सत्र सकेर असार १ देखि नयाँ शैक्षिक सत्र सुरू गर्ने गरी तयारी भइरहेको छ,’ उनले भने।

 


#शिक्षा #शैक्षिक सत्र

प्रतिकृया दिनुहोस