२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

आइसिसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज फेरि स्थगित

- विशेष खबर शुक्रबार ३०, माघ २०७७ १२:२५

आइसिसी क्रिकेट विश्वकप लिग २ को त्रिकोणात्मक सिरिज फेरि स्थगित

काठमाडौं । कोरोना भाइरसका कारण प्रभावित भएको आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमानबीचको त्रिकोणात्मक सिरिज फेरि स्थगित भएको छ।

यसअघि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आगामी १९ देखि २८ मार्चसम्म ओमानमा सिरिज गर्ने तय गरेको थियो।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार कोभिड-१९ को प्रभाव, लामो क्वारेन्टिनको प्रावधान र विभिन्न देशको भ्रमण प्रतिबन्धका कारण सिरिज स्थगित भएको हो। 

नेपाल, अमेरिका र ओमानबीचको सिरिजसँगै पिएनजी, स्कटल्यान्ड र ओमानबीच अप्रिलमा हुने सिरिज तथा पिएनजी, अमेरिका र नामिबियाबीच मेमा हुने सिरिज पनि स्थगित भएको छ।  

यसअघि ओमानले  सिरिजअघि खेलाडीहरूलाई क्वारेन्टिनमा राख्ने खर्च नबेहोर्ने बताएपछि नेपालले खेल्ने सिरिज अन्योलमा परेको थियो। 

कोभिड-१९ प्रोटोकलअनुसार दोस्रो देशबाट ओमान पुग्ने सबैले ७ दिन अनिवार्य क्वारेन्टिनमा बस्नु पर्छ। नेपाल र अमेरिकाको टिम ओमानमा बस्दा लाग्ने खर्च बेहोर्न आफू तयार नभएको ओमानले आइसिसीलाई बताएको थियो। 

सिरिजका लागि नेपालले गत शनिबारदेखि अभ्यास सुरु गरेको थियो। प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो। सुरुआती चरणमा भने २१ खेलाडी अभ्यासमा सहभागी थियो। नेपालले पहिलो चरणको तयारी सकेको छ। अब दोस्रो चरणको तयारी सुरु हुनेछ।


प्रतिकृया दिनुहोस