२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

कहाँ पुग्याे भागरथी हत्या घटनाकाे अनुसन्धान ?

आइतबार २५, माघ २०७७ १०:५०

कहाँ पुग्याे भागरथी हत्या घटनाकाे अनुसन्धान ?

बैतडी । दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्ट हत्या घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीको टोली घटनास्थलमा पुगेको छ । 

घटनालाई गम्भीरतापूर्वक लिइएकाले थप अनुसन्धानका लागि  सुवेदी नेतृत्वको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

यसअघि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका वरिष्ठ उपरीक्षक जनकराज पाण्डे नेतृत्वको अनुसन्धान टोली घटनास्थल पुगेर अध्ययन गरिररहेको  छ । यसका साथै घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी पञ्चकुमार बाँखुसहित प्राविधिक टिम परिचालन भएको छ ।

भागरथीको शव परीक्षणअघि नै भेजाइनल स्वाब सङ्कलन गरी प्रहरीलाई बुझाएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले बताए । यसैगरी अन्य आवश्यक प्रमाण पनि सङ्कलन भएका बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीको भनाइ छ । 'घटनामा संलग्नलाई पत्ता लगाउन प्रहरी लागि परेको छ,' उनले भने 'घटनामा संलग्न आरोपी अहिलेसम्म पक्राउ परेका छैनन्, अनुसन्धानकै क्रममा छौँ ।' 

दोषी पक्राउ नपरेसम्म शव नबुझ्ने अडान नछाड्दा घटनाको चार दिनसम्म पनि भागरथीको अन्तिम संस्कार हुन सकेको छैन । बिहीबार मृत अवस्थामा भेटिएकी भागरथीको शव परिवारले अझै बुझेका छैनन् । शुक्रबार साझ पोष्टमार्टमका लागि शव जिल्ला अस्पताल बैतडीमा ल्याइएको थियो । पोष्टमार्टम सकिए पनि रिपोर्ट आइसकेको छैन । अस्पताल प्रमुख डा. वसन्तराज जोशीका अनुसार सम्वेदनशील घटना र अस्पतालमा बिरामीको चाप बढी भएकोले आइतबार रिपोर्ट तयार पार्न सकिएको छैन । शव बुझेपछि न्याय नपाइने आशंका भएकोले घटनाका दोषीहरु पक्राउ नपरेसम्म शव नबुझ्ने निर्णयमा परिवार पुगेको मृतक किशोरीका काका शिवराज भट्टले बताए । 

किशोरीले प्रयोग गरिरहेको मोबाइल पनि घटनास्थलमै प्राप्त भएकाले मोबाइलबाट धेरै कुरा पत्ता लाग्ने प्रहरीको दाबी छ ।  मृतक किशोरी सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत थिइन् उनी बुधबार साँझ घर नफर्केपछि खोजतलास गर्दै जाँदा बिहीबार खोचलेक–चडेपानी ग्रामीण सडक खण्डको लवलेक जंगलमा सडकबाट एक सय मिटर तल वनमाराको झाडीमा फेला परेको थियो । अर्धनग्न अवस्थामा भेटिएको उनको शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरुको निश्कर्ष छ ।

ठाँउठाँउमा प्रदर्शन

भागरथीको बलात्कारपछि हत्या गरिएको घटनाको न्यायका लागि आइतबार बैतडीका बिभिन्न स्थानमा प्रदर्शन भएका छन् । विद्यार्थी, शिक्षक, नागरिक अगुवालगायत स्थानीय सर्वसाधारणले घटनाका दोषीलाई तत्काल कानुनी दायरामा ल्याएर भागरथीलाई न्याय दिनुपर्ने माग गरेका छन् । प्रदर्शनकारीले सदरमुकामको शाहिलेक, गोठलापानी बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालय बाहिर पुगेर नाराबाजी र कोणसभा गरेका थिए । पाटन नगरपालिकामा पनि विद्यार्थी र स्थानीयले सडकमा नाराबाजी र प्रदर्शन गरेका थिए । 

जिल्लाका राजनीतिक दलहरूले पनि हत्यारालाई पत्ता लगाइ कानूनी दायरामा ल्याउन माग गरेका छन् ।  सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा) जिल्ला कमिटीले विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानविन गर्न माग गरेको छ । जिल्ला अध्यक्ष सुरेन्द्र पालद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई गम्भीर रुपमा लिएको जनाएको छ ।

नेकपाकै दाहाल–नेपाल समूहले पनि घटनाको निन्दा गरेको छ । सचिव प्रेमप्रकाश भट्ट आदित्यले एक विज्ञप्ति जारी गर्दै सरकारले यो घटना सत्यतथ्य रुपमा बाहिर ल्याउनुपर्ने माग गरेकाे छ । 

नेपाली कांग्रेसले घटना दिनै सम्वेदनशील रहेकाले यथाशीघ्र दोषी पत्ता लगाइ सार्वजनिक गर्न अपिल गरेको छ ।  जिल्ला सचिव प्रेम चन्दद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले यो घटनाप्रति गम्भीर हुनुपर्ने जनाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष इन्द्रदेवशरण भट्टले विज्ञप्ति जारी गर्दै दोषी पत्ता लगाउन माग गरेका छन् ।


#हत्या

प्रतिकृया दिनुहोस