२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

सुदूरपश्चिमबाट रगत नमूना पठाउन समस्या

बुधबार १२, चैत २०७६ १२:५७

धनगढी । कोरोना भाइरस सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सरकारले मुलुकभर लकडाउन गरेपछि सुदूरपश्चिम प्रदेशबाट आशङ्का गरिएका बिरामीको रगत नमूना परीक्षणका लागि काठमाडाै पठाउन समस्या भएको छ ।

सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य प्रयोगशाला धनगढीले हालसम्म परीक्षणका लागि काठमाडौँ १४ रगत नमूना पठाइसकेको जानकारी दिएको छ । “लकडाउनअघि पठाएकामध्ये नौ वटाको रिपोर्ट नेगेटिभ आइसकेको छ”, प्रयोगशालाका ल्याव टेक्निसियन तथा कोभिड–१९ का फोकलपर्सन रामप्रसाद ओझाले भने, “अहिलेसम्म कञ्चनपुरबाट पठाइएको एउटा नमूना प्रदेश प्रयोगशालामा छ ।”

कोराना भाइरसकै लक्षणसित मिल्दोजुल्दो लक्षण देखिएपछि कैलालीबाट सात, बाजुराबाट चार र कञ्चनपुरबाट तीन वटा रगत नमूना प्रदेशमा पठाइएको उनले जानकारी दिए ।

“कञ्चनपुरबाट पठाइएकामध्ये शनिबार पठाएको दुई नमूनाको रिपोर्ट पनि काठमाडौँबाट आउन बाँकी छ”, ओझाले भने, “होल्डमा रहेको नमूना पनि आज एम्बुलेन्स वा कसरी पठाउने भन्ने विषयमा गृहकार्य हुँदैछ ।” उनले कैलाली र बाजुराबाट पठाएका सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

“जिल्ला अस्पतालबाट आउने रगत नमूना हामीले केन्द्रमा पठाउने हो”, उनले भने, “लकडाउनले जहाज र यातायात नचल्दा केही समस्या भने भएको भए पनि निराकरणको प्रयास हुदैछ ।” कोराना भाइरस सङ्क्रमण भएको थाहा पाउने राष्ट्रिय प्रयोगशाला टेकुमा मात्रै छ । काठमाडौँ बाहिर सो स्तरको सुविधा भएको प्रयोगशाला नहुँदा मुलुकभरबाट काठमाडौँ नै रगत नमूना पठाइँदैछ ।

रगत नमूनाको रिपोर्ट नआउँदा भीमदत्तनगरस्थित महाकाली अस्पतालमा तीन पुरुष बिरामीलाई आइसोलेसन कक्षमा राखिएको छ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोना भाइरसका सङ्क्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान पिपीई वितरण गरेको छ ।

प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोशाक अर्थात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पिपीई) उपलब्ध गराइएको हो । मन्त्रालयले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चार थान पिपीई उपलब्ध गराएको थियो ।

भीमदत्तनगरस्थित महाकाली अस्पतालका मेडिकल स्टोर किपर तिलकराज ओझाले अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पिपीई र मास्क अभाव नरहेको बताए।

अस्पतालमा ६ श्ययाको आइसोलेसन वार्ड निर्माण गरिएको छ भने यहाँको सीएम छात्रावासमा १०० श्ययाको क्वारेन्टाइन नेपाली सेनाले निर्माण गरेको छ ।


#कोरोना भाइरस

प्रतिकृया दिनुहोस