२०८१ बैशाख १४ गते शुक्रबार | 26 April, 2024

प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन

- विशेष खबर शनिबार १७, माघ २०७७ ०५:२५

प्रधानमन्त्री कप : एपीएफ लाई पराजित गर्दै त्रिभुवन आर्मी च्याम्पियन
प्रधानमन्त्री कप एकदिवसिय पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा त्रिभुवन आर्मी क्लबका खेलाडी । तस्बिर : रासस

काठमाडौं । विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शनिबार भएको फाइनमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो ।

पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी दोस्रो संस्करणमा एपीएफसँग पराजित भएको थियो । तेस्रो संस्करणको फाइनलमा नेपाल पुलिससँग पराजित भएको थियो । तर यो पटक उसले समूह चरणमा  व्यहोरेको हारको बदला लिँदै च्याम्पियन बन्यो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङका लागि ओर्लेको आर्मीले ५० ओभरमा नौ विकेट गुमाएर २ सय ११ रन बनाएको थियो । त्यसमा हरि चौकानले सार्वधिक ५८ रन बनाए । उनले सुस्त ब्याटिङ गरे पनि आखिरमा यही निर्णायक प्रदर्शन सावित भयो ।

यस्तै, आर्मीका लागि राजेश पुलामीले २८ र साहब आलमले २५ रनको योगदान दिए । अभिनाश बोहोरा सर्वाधिक सफल बलर रहे । उनले २५ रनमा चार विकेट लिए । जवाफमा एपीएफ ४१.३ ओभरमा १ सय ७८ रन बनाएर अलआउट भयो । उसका लागि प्रारम्भिक ब्याट्सम्यान आसिफ सेखले सर्वाधिक ६१ रन बनाए, तर अन्य कसैले पनि गतिलो योगदान दिन सकेनन् ।

एपीएफले नियमित अन्तरमा विकेट गुमाएको थियो र यो नै आर्मीको जितको प्रमुख कारण रह्यो । एपीएफले १८ रनको अन्तरमा अन्तिम पाँच विकेट गुमाएको थियो । आर्मीका बलरमध्ये विक्रम सोब, जितेन्द्र मुखिया तथा आलाम तीनै जनाले तीन तीन विकेट लिए र टिमको जितमा महत्त्वपूर्ण योगदान दिए ।


#प्रधानमन्त्री कप #क्रिकेट #एपीएफ #आर्मी

प्रतिकृया दिनुहोस