२०८१ बैशाख ०७ गते शुक्रबार | 19 April, 2024

प्रधानमन्त्री कप : एपीएफ र आर्मी उपाधिका लागि भिड्दै

- विशेष खबर शनिबार १७, माघ २०७७ ०९:५९

प्रधानमन्त्री कप :  एपीएफ र आर्मी उपाधिका लागि भिड्दै

काठमाडौं । चाैथाे संस्करणकाे प्रधानमन्त्री कप (पीएम कप) पुरुष क्रिकेटकाे फाइनल खेल आज हुँदैछ । दुई विभागीय टाेली एपीएफ र त्रिभुवन आर्मी उपाधिका लागि खेल्दैछन् । एपीएफले टस जितेर फिल्डिङ राेजेपछि आर्मीले पहिले ब्याटिङ गर्दै छ ।

आर्मी लगातार चौथो पटक फाइनल पुगेको हो भने एपीएफ दोस्रो पटक फाइनल पुगेको हो। विभागीय टोली त्रिभुवन आर्मी क्लबले यसअघि भएका तीन वटै संस्करणको प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनल खेलेको थियो । जसमध्ये पहिलो संस्करणमा नेपाल पुलिससँग उपाधि बाँडेको आर्मी त्यसयता दुवै फाइनलमा पराजित भयो ।

एपीएफ यस पटक अपराजित रहँदै फाइनल पुगेको हो । समूह ‘ए’ मा चारवटै खेल जितेको एपीएफले सेमिफाइनलमा साविक विजेता नेपाल पुलिस क्लबलाई ३० रनले पराजित गरेको थियो । समूह ‘ए’ मै रहेको आर्मी भने एपीएफसँग पराजित हुँदै समूह उपविजेता बनेको थियो । सेमिफाइनलमा समूह ‘बी’ को विजेता बागमती प्रदेशलाई सेमिफाइनलमा ९४ रनले पराजित गर्दै आर्मीले एपीएफसँग फाइनल भेट पक्का गरेको हो ।

आर्मीले चार पटक फाइनल खेल्दा एकल रुपमा उपाधि जित्न सकेको छैन । पहिलो संस्करणमा संयुक्त विजेता बनेको आर्मी दोस्रो संस्करणको फाइनलमा एपीएफसँग पराजित भएको थियो भने तेस्रो संस्करणमा पुलिससँग पराजित भएको थियो ।

उता एपीएफ भने दोस्रो पटक फाइनल पुगेको हो । दोस्रो संस्करणमा फाइनल पुग्दा एपीएफले उपाधि जितेको थियो । पहिलो र तेस्रो संस्करणको सेमिफाइनलमै पराजित हुँदै एपीएफ बाहिरिएको थियो ।

आर्मी र पुलिससँग खेलिसकेको एपीएफ यस पटक अपराजित छ र फाइनलसम्म त्यसलाई कायम राख्ने योजनामा छ । उता यसअघि लगातार दुई हार व्यहोरेको आर्मी त्यसलाई तोड्दै उपाधि जित्ने लक्ष्यमा छ ।

फाइनलअघि शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा दुवै टोलीका कप्तानले फाइनल खेलका लागि तयार भएको र उपाधिका जित्ने लक्ष्य भएको बताए ।

एपीएफका कप्तान शरद भेषावकरले फाइनल पुग्नु खुशीको विषय भएको बताए । ‘फाइनल पुग्नु खुसीको कुरा हो । फाइनल बाँकी छ । आशा छ भोलि राम्रो हुनेछ । टिमले राम्रो खेलिरहेको छ । चुनौतिपूर्ण अवस्थामा पनि राम्रो भएको छ,’ शरदले भने, ‘टिमले गाह्रो अवस्थामा पनि राम्रो गरिरहेको छ । टिममा फाइनल खेल्नको लागि हंगर देखिएको छ ।’


#प्रधानमन्त्री कप

प्रतिकृया दिनुहोस