२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

जुम्लामा आगलागी, २५ घर जलेर नष्ट

- विशेष खबर बुधबार १४, माघ २०७७ ०९:१०

जुम्लामा आगलागी, २५ घर जलेर नष्ट
सांकेतिक तस्बिर ।

जुम्ला । जुम्लाका तिला गाउँपालिका–७ गोठीगाउँमा २५ घर जलेर नष्ट भएका छन् । मंगलबार साँझ गोठीगाउँमा आगलागी हुँदा गाउँका २५ घर जलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । 

घटनास्थलमा रहेको प्रहरी  टोलीले आगलागीबाट २५ घर जलेर नष्ट भएको खबर पठाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी युवनकुमार चौधरीले बताए । ‘गाउँका घरहरु जलेर नष्ट भएका छन्,’ उनले भने, ‘मानवीय क्षति भने भएको छैन, अन्नबाली र चौपायाको क्षति भएको भन्ने खबर छ । यकिन विवरण अझै आइसकेको छैन ।’

आगलागी भएको गाउँ खलंगा बजा देखि ३५ किलोमिटर पश्चिममा रहेको छ । गोठीगाउँमा हिउँदमा खासै मान्छे नबस्ने भएकाले मानवीय क्षति नभएको तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णु बुढाले बताइन् ।

गोठीगाउँका बासिन्दा हिउँदमा चिसो छल्न बेसी झर्ने र गाउँमा केही कुरुवा मात्रै बस्ने भएकाले मानवीय क्षति हुनबाट जोगिएको उनले जानकारी दिइन् । ‘गाउँमा पैदल हिँडेर जानुपर्छ, जनशक्ति कम भएकाले आगो नियन्त्रणमा लिन सकिएन,’ उनले भनिन्, ‘क्षतिको विवरण संकलन भइरहेको छ । मंगलबार साँझदेखि आगलागी भएकोमा बुधबार बिहान सबै मिलेर आगो नियन्त्रणमा लिन सफल भएका छौँ ।’


#आगलागी #जुम्ला

प्रतिकृया दिनुहोस