२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

महिनौसम्म बलिरह्यो मनाङकाे आगो

- रासस मङ्गलबार २८, पुष २०७७ ०७:४७

महिनौसम्म बलिरह्यो मनाङकाे आगो
तस्बिरः रासस

काठमाडाैं । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मंसिर ११ देखि शुरु भएको आगलागि अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका पातपतिङ्गर अनि निगालोको झाडीमा फैलिएको आगलागी नियन्त्रणबाहिर नै छ । हाल यो आगलागी नासो गाउँपालिका–८ ताचैसम्म पुगेको छ । 

आगलागीबाट हालसम्म कुनै मानवीय क्षति भएको छैन । तर जडीबुटी र वन्यजन्तुमा कति असर प¥यो भन्ने लेखाजोखा छैन । आगलागी भएको क्षेत्र लमजुङको सदरमुकाम बेँसीशहरबाट ५५ किलोमिटर र सदरमुकाम चामेबाट डेढ घण्टाको दूरीमा पर्दछ । प्रशासनले आगो नियन्त्रणमा तदारुकता नदेखाउँदा हजारौँ हेक्टर जगंल डढेलोले सखाप बनाएको छ । यो क्षेत्र अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) को संरक्षणमा रहेको छ । 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले सुरक्षा समितिसँगको समन्वयमा नियन्त्रणको प्रयास भइरहेको बताए । 'हाम्रो प्रयत्न छ । हामी नियन्त्रणको प्रयास गरिरहेका छौँ । मानवले गर्न सक्नेसम्म जति हामी गर्छौं । मानव बस्तीसम्म आउन नदिने हाम्रो प्रयास हुनेछ', उनले भने, 'अन्तिम अवस्थामा हेलिकोप्टरसम्मको प्रयोग पनि हुनसक्छ ।'

आगलागी भएको क्षेत्र जङ्गलमा थार, घोरल, कस्तुरी, मृग, हिउँचितुवा जस्ता वन्यजन्तु र  पाँचऔँले, निरमसी, कुट्की, पदमचाल, यार्सागुम्बालगायत जडीबुटी पाउने गरिन्छ ।

आगलागी फैलँदै जाँदा नजीकैको ताचै गाउँ जोखिममा परेको छ । ताचैमा ६० घरपरिवारको बसोबास रहँदै आएको छ । डेढ महिनामा मात्र प्रशासनको उपस्थिति देखिएको छ । स्थानीयवासीले हारगुहार गर्दासमेत प्रशासनले नसुनेको बताउँछन् ।

सोमबार मात्र प्रजिअ, नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र एक्यापका प्रतिनिधि आगलागी भएको क्षेत्रमा पुगेको छ । आगलागीले मानव बस्ती जोखिममा पर्ने अवस्था आएपछि मात्र प्रशासनले आफ्नो उपस्थिति देखाएको हो । 

-नवीन लामीछाने


#आगलागी

प्रतिकृया दिनुहोस