२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

नास्टले तयार पार्याे नेपाली बैज्ञानिककाे सूची

- विशेष खबर बिहिबार २३, पुष २०७७ ०७:१०

नास्टले तयार पार्याे नेपाली बैज्ञानिककाे सूची

काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान तथा प्रविधि क्षेत्रमा विद्यावारिधि गरेका नेपाली वैज्ञानिकहरुको पहिलो पटक सूची तयार गरेको छ । अनुसन्धानकर्ताहरुको विषयगत विज्ञता र उनीहरुले गरेका कामको जानकारी दिने उद्देश्यले नाष्टले ‘हु इज हु’ प्रकाशन गरेको हो । 

नास्टका प्रवक्ता सुरेशकुमार ढुंगेलले पीएचडी गरेर देश/विदेशमा रहेर काम गरिरहेका अनुसन्धानकर्ताहरुको सूची तयार गरिएको बताए । विषयगत विज्ञता हासिल गरेका व्यक्तिहरुको कुन क्षेत्रमा कस्तो दक्षता छ भन्ने जानकारीका लागि सूची तयार गरिएको ढुंगेलले जानकारी दिए ।

नेपालमा अनुसन्धानको क्षेत्रमा धेरै कामहरु भए पनि कुन विधामा कस्ता कस्ता दक्षता हासिल गरेका अनुसन्धानकर्ताहरु छन् भन्ने जानकारी यसअघि थिएन । यो सूचीले आगामी दिनमा विभिन्न देशहरुमा छरिएर बसेका वैज्ञानिकहरुबीच सहकार्यका लागि मद्दत पुग्ने नास्टले जनाएको छ ।

‘यसअघि नेपालमा कुन अनुसन्धानको क्षेत्रमा को विज्ञ छ भन्ने यकिन सरकारी तथ्यांक थिएन,’ प्रवक्ता ढुंगेलले भने,‘यो सूचीले विज्ञान प्रविधिको क्षेत्रमा नेपालमा कस्ता कस्ता अनुसन्धान गरिरहेका विज्ञहरु छन् भन्ने थाह पाउन सकिन्छ । एउटा डाटावेस तयार भएको छ ।’

नास्टले तयार गरेको सूचीमा विज्ञहरुको परिचयसहित विशेषज्ञता र कामहरुको जानकारी राखिएको छ । सूची तयार गर्न नास्टले अनलाइनमार्फत आह्वान गरेको थियो । नास्टका प्राज्ञसमेत रहेका इन्जिनियरिङ अध्ययन संस्थानका प्राध्यापक शैलेन्द्रकुमार मिश्रको संयोजकत्वमा ६ सदस्यीय समिति निर्माण गरेको थियो ।

यो सूची अनलाइनमार्फतबाट नै हेर्न सकिने नास्टले जनाएको छ । हाल पहिलो चरणमा विद्यावारिधि गरेकाहरुका लागि मात्रै समावेश गरिए पनि आगामी दिनहरुमा विज्ञान तथा प्रविधि क्षेत्रमा स्नातकोत्तर गरेर अनुसन्धानमा संलग्नहरुको पनि सूची तयार गर्ने नास्टको योजना छ ।

नास्टले नेसनल एसटीआआई नलेज सेन्टर बनाउने तयारी पनि गरिरहेको छ । यो सूची उक्त सेन्टर निर्माणका लागि महत्वपूर्ण हुने ढुंगेलले बताए । एसटीआई सेन्टरले विज्ञान तथा प्रविधिका हरेक विषयसँग सम्बन्धित कार्यहरु गर्नेछ ।

नास्टको सूचीमा सबैभन्दा बढी कृषि, मेडिकल, रसायनशास्त्रमा पीएचडी गर्नेहरु बढी छन् ।


#नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान

प्रतिकृया दिनुहोस