२०८१ जेठ ०१ गते मङ्गलबार | 14 May, 2024

पाथीभराकाे डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पुग्याे

- विशेष खबर मङ्गलबार १४, पुष २०७७ ०९:५६

पाथीभराकाे डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा पुग्याे
तस्बिरः रासस

ताप्लेजुङ । पाथीभरा मन्दिर क्षेत्रको जगंलमा ६ दिनदेखि लागेको डढेलो कञ्चनजङ्घा संरक्षण क्षेत्रमा प्रवेश गरेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्रअन्तर्गत लुकुम्पा सामुदायिक वनमा आज बिहान डढेलो प्रवेश गरेको पाथीभरा क्षेत्र विकासका कर्मचारी राजेन्द्र महतले जानकारी दिएका छन् ।

हेलिकोप्टरको सहायताबाट आगो नियन्त्रण गर्न हिजो सिम्रिक एयरको हेलिकोप्टर ल्याएर डढेलोमा पानी छर्किने काम भए पनि प्रभावकारी हुन नसकेको महतले जानकारी बताए। 'ठूलो आगोको ज्वालामा हेलिकोप्टरबाट झारेको पानी त पेट्रोल पो बन्दोरहेछ । आगो नियन्त्रण हुनुपर्नेमा झन् ठूलो फैलिँदोरहेछ', महतले भने । पाथीभरा मन्दिरको संरचनामा भने डढेलोले असर गरेकाे छैन् ।

सोमबार सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाँचपटक जोरपोखरीबाट पानी ल्याएर आगो नियन्त्रण प्रयास गरिएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले जानकारी दिए । मन्दिर परिसर क्षेत्रका संरचना बचाउन सफल भएको निर्देशक काफ्लेले बताए ।

आज बिहान कञ्चनजङ्घा संरक्षण क्षेत्रमा डढेलो प्रवेश गरेको देखिएपछि फक्ताङलुङ गाउँपालिका–५ तापेथोक बिहानी उपभोत्ता समिति पदाधिकारी र संरक्षण बासिन्दा सोमबारदेखि नै संरक्षण क्षेत्रमा आगो प्रवेश गर्न नदिनका लागि लुकुम्पा सामुदायिक वनमा पुगेर बसेको कञ्चनजङ्घा संरक्षण क्षेत्र संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । 

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासि फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । अहिले पाथीभराको मन्दिर आगलागीको जोखिममा नरहे पनि जगंलमा लागेको आगो अझै पूर्णरूपमा नियन्त्रणमा आएको छैन ।

बिहीबारदेखि लागेको डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने सो क्षेत्रमा रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । जगंलमा अझै आगो सल्किरहेकाले सिरिजङ्घा गाउँपालिकामा पर्ने सिकैचास्थित ढाँडे साथै हर्कटे क्षेत्रमा रहेका गोठहरु जोखिममा परेका हुन् ।

पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ । आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ ।


#आगलागी #पाथीभरा मन्दिर

प्रतिकृया दिनुहोस