२०८१ बैशाख २८ गते शुक्रबार | 10 May, 2024

पाथीभरा मन्दिर छेउ पुग्यो डढेलो

- रासस सोमबार १३, पुष २०७७ ०७:१२

पाथीभरा मन्दिर छेउ पुग्यो डढेलो
तस्बिरः रासस

ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जगंलमा पाँच दिनदेखि लागेको आगलागीले ठूलो रुप लिन थालेको छ । आइतबार आंशिक रुपमा नियन्त्रणमा आएको आगलागी आज बिहान मन्दिर परिसरमा नै पुगेको छ ।

पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ । मन्दिर छेउमै आगो पुगे पनि सोही भागका पात हटाइएकाले मन्दिरमा आगलागी हुने सम्भावना भने नरहेको उनकाे भनाइ छ ।

मन्दिरको सुरक्षाका लागि स्थानीयवासी र तीनवटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ । बिहीबार फुङलिङ नगरपालिका–११ फावाखोलास्थित पाथीभरा सिम्बू सामुदायिक वनबाट आगलागी शुरु भएको थियो ।

आगलागी क्षेत्र मुख्यगरी वन्यजन्तु रेडपाण्डाको बासस्थानका रुपमा लिने गरिन्छ । आगलागीले बहुमूल्य जडीबुटी तथा वनस्पतिका साथै विभिन्न प्रजातिका बोट बिरुवा नष्ट भएका छन् । 

आगलागीबाट वन्यजन्तु साथै उनीहरुको बासस्थानमा समेत असर पुगेको छ भने खानेपानीको पाइप जल्दा माथिल्लो फेदीका स्थानीयवासी समस्यामा परेका छन् । खानेपानीका लागि ल्याइएको झण्डै चार सय मिटर पाइप जलेर नष्ट भएको बताइएको छ । आगलागीको कारण अझै खुल्न सकेकाे छैन् ।

यसैबीच मन्दिरसम्म आगो पुगेपछि आज सिम्रिक एयरको हेलिकप्टरबाट ढडेलो नियन्त्रण गर्न थालिएको छ । पाथीभरा क्षेत्रमा पानी नभएकाले हेलिकप्टरबाट पानी ओसारेर आगो नियन्त्रणमा ल्याउन लागिएको कार्यकारी निर्देशक काफ्लेले जानकारी दिए । 


#पाथीभरा मन्दिर

प्रतिकृया दिनुहोस