- विशेष खबर मङ्गलबार ०९, मङि्सर २०७७ ०७:११
काठमाडाैं । नेपाल राष्ट्र बैंकले कोभिड– १९ को प्रभावमा परेका क्षेत्रलाई पुनः उत्थानका लागि कर्जा प्रवाह गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले आज ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको निर्णयबाट स्वीकृत भएको कार्यविधिअनुसार कर्जा प्रवाह गर्न भनेको छ । मन्त्रिपरिषद्ले ‘व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७’ मा उल्लेख भएका व्यवस्थाअनुसार कर्जा प्रवाह गर्न भनेको हो ।
केन्द्रीय बैंकले अतिप्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सो को ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम १० करोडसम्म कर्जा प्रवाह गर्न भनेको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम सात करोडसम्म प्रवाह गर्न निर्देशन गरिएको छ ।
त्यस्तै न्यून प्रभावित क्षेत्रका श्रमिक वा कर्मचारीको वार्षिक पारिश्रमिक तथा सोको ५० प्रतिशत थप गरी कूल रकम वा अधिकतम पाँच करोडसम्म प्रवाह गर्न निर्देशन दिइएको छ । केन्द्रीय बैंकले त्यस्तो कर्जा आफ्नो प्राथमिक पूँजीको १० प्रतिशतसम्म मात्र प्रवाह गर्न सकिनेछ । सीमा स्वीकृत गर्दा कार्यविधिअनुसार प्रभावित कूल कर्जाको ३० प्रतिशत रकम घरेलु, साना तथा मझौला उद्यमको लागि प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।
राष्ट्र बैंकले यस्तो कर्जा प्रवाह गर्दा कर्जा सूचना शुल्कलगायत तेस्रो पक्षलाई भुक्तानी गर्नुपर्ने शुल्कबाहेक अन्य कुनै प्रकारको शुल्क भने लिन नपाउने व्यवस्था गरिएको जनाएको छ ।
यसैगरी बैंक तथा वित्तीय संस्थाले अनलाइन प्रणालीबाट समेत कर्जाको लागि आवेदन प्राप्त गर्ने व्यवस्था मिलाउनुपर्नेछ । व्यावसायिक निरन्तरता कर्जा प्राप्त गरेका ऋणीको विवरण आफ्नो बेवसाइटमार्फत त्रैमासिकरुपमा सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकका कार्यकारी निर्देशक ढकालले जानकारी दिए ।
प्रतिकृया दिनुहोस