बिहिबार २९, फागुन २०७६ ०१:५८
नयाँदिल्ली — विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले महामारीको संज्ञा दिएको कोरोना भाइरस’ (कोभिड–१९) को संक्रमणविरुद्ध जुध्न भारत सरकारले करिब १२५ वर्ष पुरानो कानुन लागू गरेको छ ।
मन्त्रिपरिषदका सचिव राजीव गौबाको अध्यक्षतामा बुधबार बसेको समीक्षा बैठकले १८९७ मा बनेको महामारी रोगविरुद्धको ऐनअन्तर्गतको खण्ड दुईको व्यवस्था लागू गर्ने निणय गरेको हो ।
उक्त व्यवस्था लागू भएपछि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जारी गर्ने कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जारी निर्देशन तथा सूचनाहरु सबै राज्य र केन्द्र शासित प्रदेशहरुले अनिवायर् रुपमा लागू गर्ने छ । केन्द्रबाट जारी गरिने निर्देशन तथा सूचनाहरुमा प्रदेश सरकारहरुले त्यसलाई सार्वजनिक सूचनाहरु जारी गर्दै कार्यान्वयनमा लग्नुपर्ने छ ।
पुसको दोस्रो साता चीनको वुहानबाट सुरु भएर विश्वका १२० भन्दा बढी देशमा फैलिएको कोभिड–१९ ले हालसम्म सवा लाख बढी मानिस संक्रमित भइसकेका छन् भने त्यसले चार हजार तीन सयभन्दा बढीको ज्यान लिइसकेको छ । भारतमा पनि कोरोनाको संक्रमितको संख्या दिनहुँ बढ्दो छ ।
बिहीबार बिहानसम्म भारतमा ६२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबारसम्म कोरोनाको संक्रमितको संख्या ५० मात्र रहेकोमा एकै दिनमा थप १२ जनामा कोरोना पुष्टि भएपछि भारत सरकारले संक्रमण थप फैलिन नदिने विभिन्न निर्णयहरु लिएको थियो । त्यसअन्तर्गत सवा सय वर्ष पुरानो महामारीविरुद्धको कानुनलाई पनि लागू गरिएको हो ।
बुधबारको बैठकले भारत सरकारले १५ अप्रिलसम्मका लागि विदेशीहरुका लागि प्रवेश निषेध गर्ने निर्णय समेत गरेको छ । शुक्रबारदेखि लागू हुने गरी कुटनीतिक नियोगका अधिकारी र यूएनलगायतका अन्तर्राष्ट्रिय निकायका अधिकारी बाहेकका लागि जारी गरिएको भिसा १५ अप्रिलसम्मका लागि निलम्बलन गरिएको छ ।
साथै सडकमार्गबाट हुने प्रवेशलाई भने अझै खुला राखिएको छ । तर, सडकमार्गबाट हुँदै भारत आउने विदेशी नागरिकहरुलाई पनि नाकामा कडा स्वास्थ्य जाँच गरेपछि मात्र प्रवेश दिइने भने जनाइएको छ । यसबाट भारत आउन नेपालीहरु पनि प्रभावित हुनेछन् । यससम्बन्धमा गृह मन्त्रालयले बेग्लै सूचना जारी गर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस