२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीलाई  काठमाडौँ ल्याइयो

सोमबार २९, भदौ २०७७ ०७:०५

दुर्घटनामा घाइते भएका क्रिकेटर भण्डारीलाई  काठमाडौँ ल्याइयो

काठमाडाैं । दुर्घटनामा गम्भीर घाइते भएका राष्ट्रिय क्रिकेट खेलाडी ललितसिंह भण्डारीलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

आइतबार साँझ कञ्चनपुरको झलारीमा दुर्घटनामा पर्नुभएका भण्डारीको थप उपचार काठमाडौँ स्थित ग्राण्डी अस्पतालमा हुने भएको छ । उनलाई केही बेर अघि बाँकेको कोहलपुर मेडिकल कलेजबाट हेलिकप्टरमा ग्राण्डी ल्याइएको हो । 

धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको से १ ख १३२४ नम्बरको मिनिट्रकले आइतबार साँझ कञ्चनपुरको झलारी बजारमा भण्डारीले चलाएको म २ प ४७०५ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिएको थियो । भण्डारीको दाहिने खुट्टा र दाहिने हात भाँच्चिएको छ ।

भण्डारीको छाती र अन्य भागमा समेत चोट भएकाले थप उपचारका लागि काठमाडौँ ल्याउनुपरेको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० का बासिन्दा भण्डारी महेन्द्रनगरबाट घर फर्किदा दुर्घटनामा परेका थिए । 


प्रतिकृया दिनुहोस