२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

बँदेल मार्न थापिएको पासोमा परेर एककाे मृत्यु

आइतबार २८, भदौ २०७७ ०७:५८

बँदेल मार्न थापिएको पासोमा परेर एककाे मृत्यु

परासी । बँदेल मार्न थापिएको करेन्टको पासोमा परी नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा एकको मृत्यु भएको छ ।

घर नजिकैको जगंलबाट आउने बँदेलले धानबाली नष्ट गरेको भन्दै बँदेल मार्न थापेको पासोमा परी रामग्राम नगरपालिका–१४ पर्सावलका ५५ वर्षीय होमनारायण यादवको मृत्यु भएको हो ।

शुक्रबार राती घरबाट निस्केका श्रीमान् हराएको भनी यादवकी श्रीमती सोनीया यादवले खोजतलासका लागि प्रहरीमा निवेदन दिएपछि प्रहरीले खोजतलास शुरु गरेको थियो । 

खोजतलासको क्रममा मृतक यादवसंगै अन्य चार जना मिलेर पासो थापेको र यादवको मृत्यु भएपछि चारै जना फरार भएको पत्ता लागेपछि अनुसन्धान अघि बढाईएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिए ।

फरारमध्ये दुई जनालाई प्रहरीले गए राती रुपन्देहीबाट नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको छ । 

पक्राउ परेका सोही गाउँका बाबुराम चौधरी र मोहन चौधरीले यादवको पासोमा परी मृत्यु भएपछि घटनास्थलभन्दा केही पर कुलोमा खाल्डो खनेर शव पुरेको बयान दिएका थिए । प्रहरीका अनुसार शुक्रबार राती उनीहरु पाँचै जनाले पासो थापेर घर गएको र बँदेल परेपछि खबर गर्ने जिम्मा पनि यादवकै थियो । 

अबेरसम्म पनि यादवले जानकारी नदिएपछि पासो थापेको ठाउँमा आफूहरु पुग्दा यादव मृत्त फेला परेपछि खाल्डो खनेर पुरेको पक्राउ परेकाहरुले बताएको डिएसपी लामाले बताए। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


#मृत्यु

प्रतिकृया दिनुहोस