२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

काठमाडाैं उपत्यकामा निषेधाज्ञा खुकुलोः के खुल्ने, के नखुल्ने ?

- विशेष खबर बुधबार २४, भदौ २०७७ ०७:२१

काठमाडाैं उपत्यकामा निषेधाज्ञा खुकुलोः के खुल्ने, के नखुल्ने ?
फाइल तस्बिर ।

काठमाडौं । तीन हप्तासम्म कडा निषेधाज्ञा लगाइएको काठमाडौं उपत्यकामा बिहीबारदेखि भने पसल र सवारी साधन पनि सञ्चालन हुने भएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले परिस्थितिको मूल्यांकन गरेर निषेधाज्ञालाई खुकुलो बनाइएको बताए । उनले भने, ‘अब सर्वसाधारण आफैं पनि सचेत हुनुपर्छ, सामाजिक दूरी कायम गर्ने, गराउने विषय सबैको दायित्व हो ।’

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले पसल र सवारी साधन पनि सञ्चालन गर्ने गरी निषेधाज्ञाको आदेश जारी गरेका छन् ।

निजी सवारी साधन सबै र १६ सिट भन्दा बढी क्षमताका सार्वजनिक सवारी साधन अब जोर विजोर प्रणालीमा सञ्चालन हुनेछन् । ट्याक्सीमा चालकसहित ३ जना मात्र बस्न पाइनेछ ।

 सार्वजनिक सवारी  साधनमा एक लहरमा एक जना गरी कुल सिट संख्याको आधामा मात्र बस्न पाइनेछ ।

मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन  ।

बैंकहरू यसअघि नै सुचारु थिए। अब सहकारी पनि खोल्न पाइने छ।

वर्कसप, भाँडापसल, अनलाइन कक्षा, फेन्सी पसल खुल्ने छन्।

शिक्षा मन्त्रालयले अनलाइन कक्षा सञ्चालन गर्न पाउने छ। उपत्यकाका सबै नाकाहरू साबिकझैं बन्द रहनेछन्। उपत्यकाभित्र मात्र सवारी चलाउन पाइने छ।

दाहालका अनुसार होटल, रेष्टुरेन्ट र बार खोल्न पाइने छैन। खुल्ला स्थानमा सभा-जुलुश, जात्रा महोत्सव हुन दिइने छैन। मठ-मन्दिर, मस्जिदमा दैनिक पूजाआजाबाहेकका काम गर्न पाइने छैन।  

उद्योग र कलकारखाना चल्न दिइन्छ। तर, स्वास्थ्य मापदण्डविपरीत चलाउन पाइँदैन। चाडपर्वमा हुने जमघट हुन दिइँदैन। शैक्षिक संस्था चल्ने छैनन्।

गोष्ठी, सेमिनार, शैलुन, स्पा, ब्युटी पार्लर खुल्ने छैनन्। चिडियाखाना तथा प्रदर्शनीहरू बन्दै रहने छ। श्रमिक-मजदुरलाई सामाजिक दूरी कायम नगरीकन ओसारपसार गर्न पाइने छैन।

निर्माण सामग्रीका पसल, निर्माण सामग्री ढुंगा, बालुवा, सिमेन्ट, रड, डन्डीलगायत बोक्ने ट्रक, टिपरहरूलाई यसअघि नै सञ्चालन हुन दिइएको थियो। निर्माण सामग्री बोक्ने सवारीसाधनलाई समय तोकिएको थिएन भने पसललाई दिउँसो २ बजेदेखि राति ९ बजेसम्म तोकिएको थियो। 

राजधानीमा कोरोना संक्रमण व्यापक बढेपछि प्रशासनले भदौ ३ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो। साता-सातामा दुई पटक निषेधाज्ञाको समय बढाइएको थियो।

निषेधाज्ञा निरन्तर भइरहँदा आर्थिक गतिविधिहरू ठप्प भएपछि प्रशासन लचिलो भएको प्रजिअ दाहालले बताए। यसअघि मंगलबार सरोकारवाला सबै पक्षसँग छलफल गर्दा पनि चाडबाड नजिकिएका कारण आर्थिक गतिविधिहरू हुनुपर्ने राय पेश भएको थियो।

दाहालका अनुसार अहिले लागू भएको निषेधाज्ञाको पनि स्वरुप परिवर्तन हो। ‘संक्रमणको अवस्थालाई मध्यनजर गरेर यो निर्णय क्रमश: हटाउने वा जारी राख्ने निर्णय हुनसक्छ,’ दाहालले भने।  

हेर्नुहोस् निर्णयः


#उपत्यकामा निषेधाज्ञा खुकुलाे

प्रतिकृया दिनुहोस