२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

आज देखि नियमित अन्तर्राष्ट्रिय उडान हुदै, पहिलाे उडान जापानको नारिता

- विशेष खबर मङ्गलबार १६, भदौ २०७७ ०१:२२

आज देखि नियमित अन्तर्राष्ट्रिय उडान हुदै, पहिलाे उडान जापानको नारिता
फाइल तस्बिर ।

काठमाडाैं । काेराेना संक्रमण नियन्त्रणका लागि देशभर लागू गरिएको बन्दाबन्दीको पाँच महिनापछि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु भएको छ ।

सरकारले बन्दाबन्दीको पाँच महिनापछि आज भदौ १६ देखि निश्चित शर्तसहित नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । 
    
भदौ ४ गतेको मन्त्रिपरिषद् बैठकले काेराेना महामारीबाट बचेर सुरक्षित उडानका लागि पिसीआर परीक्षण सहज भएका देशहरुबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान नियमित उडान सञ्चालन हुनेछ । याेसंगै विभिन्न मुलुकबाट चार्टर्ड उडान पनि सञ्चालन गरिनेछ ।

नेपालमा बन्दाबन्दी शुरु भएको चैत ११ देखि अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाइएको थियो । आन्तरिक उडान पनि स्थगन गरिएको थियो । यस बीचमा कुनै पनि व्यावसायिक उडान भएनन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीका अनुसार बन्दाबन्दी र त्यसपछि निषेधाज्ञाको अवधिमा अन्तर्राष्ट्रिय विमानस्थल हुदै ५४ हजार ११५ यात्रु नेपाल आएका छन् । नेपालबाट २२ हजार १९६ जना यात्रु बाहिरिएका छन् । कार्गोतर्फ उक्त अवधिमा विभिन्न देशबाट १४ लाख ४१ हजार ५४० कार्गो नेपाल भित्रिएको छ भने नेपालबाट १८ लाख २७ हजार ८४४ कार्गो विदेश पठाइएको छ । यो चैत ११ देखि भदौ १४ गतेसम्मको विवरण हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सेप्टेम्बर महिनाभरको नियमित र चार्डर्ड दुबै उडानको तालिका सार्वजनिक गरिसकेको छ । पिसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसघंका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउने गरी नियमति उडान गरिनेछ ।
    
पिसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन नपाइने निर्णय गरेको छ । नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउन पाइनेछ । यस्तै पिसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर्ड उडान मात्र सञ्चालन हुने जनाइएको छ ।

नियमित अन्तर्राष्ट्रिय उडान शुरु हुने आज पहिलो दिन नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को एक मात्र उडान तालिका रहेको छ । निगमको वाइड बडी जहाजले आज राति १ः०० बजे जापानको नारिताका लागि उडान भर्ने विमानस्थलले जनाएको छ । आजको लागि अन्य एयरलाइन्सको नियमित उडान तालिका छैन । चार्टर्डतर्फ आज पाँच उडान हुनेछन् 

विदेशबाट आउने यात्रु विमानस्थलबाट सिधै होल्डिङ सेन्टरमा जानुपर्नेछ । प्रदेश अनुसारको सातै प्रदेशको छुट्टाछुट्टै होल्डिङ सेन्टरमा पुगेपछि यात्रुको पिसीआर विवरण तथा होटल बस्नुपर्ने हो वा घर जान पाउने हो टुङ्गो लाग्छ । पिसीआर रिपोर्ट नेगेटिभ भएकाले घरमा गएर होम क्वारेन्टिनमा बस्नुपर्छ । पिसीआर रिपोर्ट नभएकाले होटलमा सात दिन बसेर स्वास्थ्य परीक्षण गराएर आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै घर जान पाउनेछन् ।


#त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

प्रतिकृया दिनुहोस