सोमबार ०१, भदौ २०७७ १०:१०
बैतडी । भाद्र संक्रान्तिका दिन सुदूरपश्चिममा बुढी हाल्ने पर्व चलन छ । राक्षस पुतनालाई भगवान कृष्णले मारेको उत्सवका रुपमा भाद्र संक्रान्तिका दिन गाडेको ‘बुढी’ (साना रूख) असोज संक्रान्तिमा जलाउने चलन छ ।
यो पर्वमा गाईबस्तुको हेरचाह गर्ने गोठालाहरुले आजका दिन साना रुख काटेर दोबाटोमा गाड्छन् । यसैलाई ‘बुढी बाड्ने’ भन्छन् । त्यसको एक महिनापछि असोज संक्रान्तिका दिन त्यसलाई काँडादार घाँसबाट बनाइएको पुतनाको राक्षसको आकृति बनाई जलाउने चलन छ ।
द्वापर युगमा राक्षसी पुतना राजा कंसको आदेशले भगवान कृष्णलाई दुधको रुपमा विष खुवाएर मार्न लागेका बेला कृष्णले थाहा पाएर उल्टै राक्षसी पुतनाको रगत चुसेर विजयी प्राप्त गरेको खुसीयालीमा पर्व मनाइँदै आएको धार्मिक किम्बदन्ती छ ।
पुत्ला दहनका लागि कांस, अमरिसोलगायत पाँच जातको घाँसले बेरेको राँको बनाएर बुढी पोल्ने ठााउमा लैजाने चलन छ । दोबाटोमा जलाएको पुतना राक्षसनीको आकृतिबाट जलेको खरानीको तिलक गाईबस्तुलाई लगाईन्छ ।
‘बुढी’ पोल्दा शरीरमा हुने लुतो फाल्ने भन्दै गोठलाहरु काक्रो लगायतका फल चपाउँदै थुक्ने गर्दछन् । साँझ परेपछि राक्षसनी पुतनाको पुत्ला दहन गरिन्छ । यसो गरेमा घरमा पालेका पशुहरुलाई कुनै रोग नलाग्ने धार्मिक जनविश्वास छ ।
यो पर्व सुदूरपश्चिमको बैतडी, दार्चुला, डडेल्धुरा, बझाङलगायत भारतको उत्तराखण्ड क्षेत्रमा मनाईन्छ । राति देउडा खेलेर रमाइलो गर्ने र गाउँमा उत्पादन हुने फलफूल बाँडेर खाने चलन छ ।
प्रतिकृया दिनुहोस