२०७८ असार ०५ गते शनिबार | 19 June, 2021

क्रान्तिको अधुरो इतिहास

- नबिन अवस्थी शनिबार १७, साउन २०७७ ०३:२९

क्रान्तिको अधुरो इतिहास

कि त जोत हलो कि त छोड थलो ।
यदि हाईन भने अब छैन भलो । 

२००७ साल भन्दा अघिको परिबेशमा सहिद भीमदत्त पन्तले रचेका यस्ता क्रान्तिकारी गीतहरुले ठालुहरुको सातो जान्थ्यो । उनीहरुका नजरमा भीमदत्तको छबि एउटा ‘खलनायक’ झै थियो । गरिब किसानका मनमा भने उनी क्रान्तिका नायक थिए । 

१९८३ सालमा डडेल्धुराको कारिगाउमा जन्मिएका सहिद पन्त ठालुहरुको जग्गा र सम्पत्ति गरिब किसानलाई बाड्थे ।   पन्तको त्यहि चरित्रले गर्दा धेरै गरिब किसानहरु उनका पक्षमा उभिएका थिए । त्यो समय नै भीमदत्त पन्तको थियो । 

हलो जुवा सबै छाडी
किसान जब जागला
तोप ट्यांक सबै छाडी
सिपाही तब भागला ।।

उनका यस्ता गीत र कविताले गर्दा धेरै थर्कमान हुन्थे । क्रान्तिकारी गीत गाउदै हिडने भएकाले गाउका ठालुले उनलाई होच्याएर ‘पागल’ को संज्ञा दिएका थिए । उनले ‘तिमीहरुका लागि म पागल नै हो’भन्दै आफ्नो नाम पागल पन्त राखेर पनि गीत रचना गरेको उनका सहकर्मीहरु अहिले पनि समरण गर्छन् । 

सुदूरपश्चिममा सुन्दर क्रान्ति बिम्बका रुपमा प्रख्यात पन्त हुरीको ठूलो झोक्का झै आएका थिए । कलिलो उमेरमै उनले सहादत प्राप्त गरे ।
 
उनका बारेमा थुप्रै किंबदन्ति प्रख्यात छन्, पश्चिममा । ब्रम्हदेब मण्डी कब्जा गरेर गरिब किसानहरुलाई नुन बाडेको कुरा अहिले पनि बुढापाका रमाईलो मानेर सुनाउछन् । राणाशासनकालमा भन्सारका सुब्बालाई जिउदै बोरामा हालेर महाकाली नदीमा बगाएको घटना अहिले पनि चर्चित छ । 

भारतमा बसेर शिक्षा दिक्षा पाएका पन्तले नेपालमा आएर सर्बसाधारणमा राजनीतिक जागरण ल्याएका थिए । पश्चिममा मुक्ति सेनाको नेतृत्व गरेर प्रजातन्त्र ल्याउन भूमिका खेलेका थिए । राणाशासन बिरुद्ध उनले गरेको त्यहि क्रान्ति उद्घोषले गर्दा पश्चिममा जनलहर नै सृजना भएको थियो ।

उनले थुप्रै शैक्षिक र समाज सुधारका काम गरेका थिए । त्यही क्रान्तिकारी कदमलाई देख्न नसकेर तत्कालीन शासकले हत्याको षडयन्त्र गरेको भनाइ छ । उनको हत्या गर्न तत्कालीन सरकारले भारतबाट फौज समेत मगाएको जानकारहरुको भनाइ छ । अन्तिममा उनलाई झुक्याएर उनकै मितले हत्या गरेको ईतिहास छ । 

२०१० साउन १७ गते उनको हत्या गरिएको थियो । बासको लिंगोमा टाउको झुन्ड्याएर डडेल्धुराको टुडिखेलमा प्रदर्शन गरिएको थियो । सरकारका बिरुद्ध जाने र बोल्नेलाई यस्तै सजाय हुन्छ भनेर प्रचार गरिएको थियो । त्यसपछि ३१ वटा सर्तहरुमा हस्ताक्षर गराएर उनको शब आफन्तको जिम्मा लगाइएको थियो । 

राजा जिम्दार जोक बने है, जनताका खुन चुस रहे है ।
चलो दुनिया नई बनाई, प्रेमकि नदिया बहाई ।। 

जनतालाई जागरुक पार्न उनी हिन्दिमा पनि कबिता रचना गर्थे । उनका कबिताहरु सुनेर धेरै तत्काल सर्मथक भईहाल्थे । यस्ता क्रान्तिकारी ब्यक्तित्वको ईतिहास लेखिएकै थिएन । उनको क्रान्तिभूमि ब्रम्हदेब र डडेल्धुरा सदरमुकाममा उनका शालिक बनाइएका छन् । 

औपचारिक रुपमा बर्षको एकपटक उनको त्यहि शालिक अगाढी गएर उभिनु बाहेक उनलाई चीरकाल सम्म सम्झिने काम राज्यले नगरेको स्थानीयको ठम्याई छ ।  


#भीमदत्त पन्त

प्रतिकृया दिनुहोस