२०८१ जेठ ०६ गते आइतबार | 19 May, 2024

देउवाले गरे राजनीतिज्ञ सभामा ४ सय ७९ सदस्य मनोनयन, पाैडेल र सिटाैला पक्ष असन्तुष्ट

बिहिबार १५, साउन २०७७ ११:०८

देउवाले गरे राजनीतिज्ञ सभामा ४ सय ७९ सदस्य मनोनयन, पाैडेल र सिटाैला पक्ष असन्तुष्ट

काठमाडाैं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीकाे ज्येष्ठ राजनीतिज्ञ सभामा विभिन्न जिल्लाका ४ सय ७९ नेताकार्यकर्तालाई सदस्यमा मनोनयन गरेका छन् ।

सभापति देउवाले आफ्नो नेतृत्वमा रहने ज्येष्ठ प्राज्ञ सभामा बुधबार उनीहरूलाई मनोनयन गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सभामा पूर्वसभामुखद्वय तारानाथ रानाभाट र दमननाथ ढुंगानालगायतलाई समेटेका छन् । यो सभा पार्टीमा संघर्ष गरेका पुराना नेता तथा कार्यकर्तालाई सम्मानका लागि बनाइएको निकाय हो ।

सभामा देउवाले डडेलधुराका २३ जनालाई मनोनयन गरेका छन् । मोरङबाट भने तीन जना मात्रै परेका छन् । विधानमा पार्टीका निकाय, विभाग र समिति ६ महिनाभित्र गठन हुनुपर्ने व्यवस्था छ ।

वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्ष भने याेलगायत देउवाका पछिल्ला निर्णयमा असन्तुष्ट छ । केन्द्रदेखि तलसम्मको महाधिवेशन/अधिवेशनको तालिका घोषणा गरिसकेको अवस्थामा पार्टीका कुनै पनि निकायको मनोनयन र नियुक्ति आचारसंहिताविपरीत हुने ठम्याइ संस्थापन इतर समूहको छ ।

पार्टीको नियमावलीको नियम ५० मा ज्येष्ठ राजनीतिज्ञ सभा गठनसम्बन्धी व्यवस्था छ। उक्त प्रावधानअनुसार पार्टीमा लामोसमयदेखि निरन्तर योगदान पुर्‍याउँदै आएका तर वर्तमान अवस्थामा पार्टीको कुनै पनि तहको पदीय जिम्मेवारीमा नरहेका ६५ वर्ष उमेर पुगेका पार्टीका ज्येष्ठ राजनीतिककर्मीको सहभागितामा केन्द्रीय सभापतिको अध्यक्षतामा केन्द्रमा ज्येष्ठ राजनीतिज्ञ सभा रहनेछ।

यसैगरी प्रदेशमा प्रदेश सभापति र जिल्लामा जिल्ला सभापतिको अध्यक्षतामा ज्येष्ठ राजनीतिज्ञ समिति रहने नियमावलीमा व्यवस्था छ। यसले पार्टीलाई सल्लाह, सुझाव र प्रेरणा दिने काम गर्नेछ।

कांग्रेस महाधिवेशन आउन ७ महिना बाँकी छँदा सभापति देउवाले पार्टीको केन्द्रीय निकायमा एकपछि अर्को मनोनयन र नियुक्ति गर्दै जान थालेपछि संस्थापन इतर समूह सशंकित बनेको हाे ।

वरिष्ठ नेता पौडेल र पूर्वमहामन्त्री सिटौला पक्षले देउवाको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष महाधिवेशन हुनेमै संशय व्यक्त गरेका छन् ।

नेतृत्वको पछिल्ला कदमको विरोध गर्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार पौडेल पक्षको बैठक चलिरहेकै बेला सभापति देउवाले केन्द्रीय तहको ज्येष्ठ राजनीतिज्ञ सभामा ४ सय ७९ जनालाई मनोनयन गरेका थिए ।

पौडेल पक्षको बैठक सकिएलगत्तै मनोनयन गरेको सूची बाहिरिएको थियो । यसअघि भएका पार्टीको विभागका मनोनयन, क्रियाशील सदस्यता वितरणमा चलखेल, राप्रपा नेता सुनिल थापालाई सहमहामन्त्री र अन्य नेतालाई सात केन्द्रीय सदस्य दिने सभापति देउवाको निर्णयमा छलफल गर्न पौडेल पक्षको बैठक बसेको थियो ।

बैठकमा सबै नेताले देउवाका पछिल्ला कदमलाई रोक्न नसक्ने हो भने महाधिवेशन निष्पक्ष रूपमा हुन नसक्ने धारणा राखेका थिए । महाधिवेशन आफूअनुकूल बनाउन देउवा विदेशस्थित जनसम्पर्क कार्यालय र क्रियाशील सदस्यता वितरणतिर पनि लक्षित छन् ।


#काँग्रेस

प्रतिकृया दिनुहोस