२०८१ जेठ ०५ गते शनिबार | 18 May, 2024

पूर्वमन्त्री जोशी र ओझासहित तीन नेता कांग्रेसबाट निष्काशित

शनिबार १०, साउन २०७७ ०९:४३

पूर्वमन्त्री जोशी र ओझासहित तीन नेता कांग्रेसबाट निष्काशित

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पुराना दुई नेतासहित तीन जनालाई पार्टीबाट निष्काशन गरेको छ । 

शनिबार बसेको कांग्रेस नेता भिष्मराज आङदम्बे नेतृत्वको अनुशासन समिति बैठकले पार्टीका पूर्व सहमहामन्त्री र पटक–पटक मन्त्री भइसकेका गोविन्दराज जोशी, पूर्व राज्यमन्त्री समेत रहेका महासमिति सदस्य पुष्करनाथ ओझा र पार्टी सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराका पार्टी कार्यालय सचिव रामबहादुर विष्टलाई निष्काशन गरेको हो ।

जोशी र ओझालाई पाँच बर्षका लागि र विष्टलाई तीन वर्षका लागि निष्काशन गर्ने निर्णय भएको कांग्रेस केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । उनीहरुलाई समितिले फागुन १९ गते अन्तिम स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरण चित्तबुझ्दो नभएको उल्लेख गर्दै पार्टी विधान अनुसार कारवाही गरिएको समितिले जनाएको छ ।

०७४ काे निर्वाचनमा जोशीले पार्टीका बरिष्ठ नेता रामचन्द्र पौडेल र ओझाले सभापति देउवा पत्नी आरजु राणालाई हराउन मुख्य भूमिका खेलेको आरोप छ । तनहूँ क्षेत्र नं १ बाट आधिकारिक उम्मेदवार बनेका पौडेलबिरुद्ध जोशीले बागी उम्मेदवारी हालेका थिए ।

उनीबिरुद्धको भ्रष्ट्राचारको मुद्दा अदालतमा विचाराधीन रहेको कारण देखाउँदै निर्वाचन आयोगले जोशीको उम्मेदवारी बदर गरे पनि आधिकारिक उम्मेदवारलाइ असहयाेग गरेकाे आरोप छ । 

अर्का नेता ओझामाथि आरजुलाई हराउन भूमिका खेलेकाे आरोप छ । आरजु कैलाली–५ बाट उम्मेदवार थिइन् । ओझाकाे कैलालीमा राम्राे प्रभाव छ । 

डडेलधुरा पार्टी कार्यालयका सचिव विष्टमाथि पनि अन्तरघातको आरोप छ । उनीहरुबिरुद्ध सम्वन्धित जिल्लाको क्षेत्र र जिल्ला कार्यसमितिबाट कारवाहीको उजुरी परेको थियो ।  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


#काँग्रेस

प्रतिकृया दिनुहोस