२०८१ बैशाख १८ गते मङ्गलबार | 30 April, 2024

सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना नभएकाे डब्लूएचओकाे भनाइ

बिहिबार ०८, साउन २०७७ १०:५५

सन् २०२१ अघि कोरोना खोप बन्ने सम्भावना नभएकाे डब्लूएचओकाे भनाइ

एजेन्सी ।  विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले सन् २०२१ अघि कोरोना भाइरसविरुद्धको खोप बन्ने सम्भावना नभएको बताएको छ । डब्लूएचओका आपत्कालीन कार्यक्रम प्रमुख डाक्टर माइकल ऱ्यानले अनुसन्धानकर्ताहरुले खोप निर्माणमा सफलता प्राप्त गरिरहे पनि तत्काल यो प्रयोगमा आउने सम्भावना नरहेको बताएका हुन् ।

कोरोनाविरुद्धको खोप निर्माणमा ढिलाइ नै भए पनि सुरक्षाका हिसाबले कुनै कमीकमजोरी हुन नहुने पनि उनले बताए । ‘खोप निर्माणमा हामीले राम्रो सफलता प्राप्त गरिरहेका छौं,’ केही खोपले तेस्रो तहको परीक्षण पनि पार गरेको डाक्टर ऱ्यानले बताए । साथै यी खोपहरु सुरक्षा मापदण्डका हिसाबले अहिलेसम्म विफल पनि नभएको उनले बताए । ‘आम सर्वसाधारणलाई दिनुभन्दा पहिले उनीहरुलाई हामीले ती खोप सुरक्षित र प्रभावकारी रहेको कुरा सुनिश्चित गर्नुपर्छ । यसका लागि हामीलाई केही समय लाग्न सक्छ । वास्तविक अवस्था हेर्ने हो भने अर्को वर्षको ६ महिनासम्ममा हामीले सर्वसाधारणलाई खोप दिने सम्भावना रहेको छ,’ उनले भने ।

विश्वका विभिन्न देशमा कोरोनाविरुद्धको खोप परीक्षण सफल भइरहेको दाबी गरिएको छ । बेलायतको अक्सफोर्ड विश्वविद्यालयले आफूले निर्माण गरेको खोप सुरक्षित र प्रभावकारी भएको दाबी गरेको छ । त्यस्तै रुसको सेचनोव विश्वविद्यालयले पनि स्वयंसेवकमा गरिएको परीक्षणमा आफूले निर्माण गरेको कोरोनाविरुद्धको सफल भएको दाबी गरेको छ ।


#विश्व स्वास्थ्य संगठन

प्रतिकृया दिनुहोस