२०८१ असोज ०१ गते मङ्गलबार | 17 September, 2024

आईएमई र जीएमई रेमिटको एकीकृत कारोबार सुरु

- विशेष खबर बिहिबार ३१, साउन २०८१ १०:१९

आईएमई र जीएमई रेमिटको एकीकृत कारोबार सुरु

काठमाडौं । आईएमईले जीएमई रेमिटसँग मर्जर गरी एकीकृत कारोबार सुरु गरेको छ । बुधबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

मर्जरपछि बनेको आईएमईको चुक्ता पूँजी एक अर्ब नाघेको छ । कार्यक्रममा डेपुटी गभर्नर मिश्रले राष्ट्र बैंकको प्राथमिकता बमोजिम औपचारिक अर्थतन्त्र निर्माणमा आईएमई रेमिट्यान्सको योगदान महत्त्वपूर्ण रहेको बताए ।

मिश्रले रेमिट्यान्स सेवालाई सहज एवम् थप प्रविधियुक्त र सुलभ बनाउन पनि मर्जरले योगदान दिने बताए ।

राष्ट्र बैंकबाट रेमिट्यान्सको कारोबार गर्ने पहिलो कम्पनीको रूपमा इजाजत लिएको आईएमई १५ वर्ष पुगेको छ ।

कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले करिब २५ वर्ष पहिले मनी एक्सचेन्जको सानो काउन्टरबाट सुरु भएको आईएमई अर्थात् इन्टरनेसनल मनी एक्सप्रेसको यात्रा निकै संघर्षपूर्ण रहेको स्मरण गरे ।

जापान बस्दा आफैंले नेपालमा पैसा पठाउँदा खेपेको सकसले छिटो, भरपर्दो माध्यम खोजी गर्ने क्रममा आईएमईको जन्म हुन पुगेको उनले सुनाए । ‘पैसा पठाउने भनेको आईएमई गर्ने हो भन्ने पर्याय बन्न सफल भएको छ । योभन्दा अर्को खुसीको कुरा हाम्रो लागि के होला ?,’ उनले भने । एक करोड चुक्ता पूँजीको आईएमईले अहिले एक अर्बभन्दा बढीको कम्पनी भएको ढकालले बताए ।

‘आईएमई सुरुवातको समय करिब २० प्रतिशत मात्र औपचारिक रहेको रेमिट्यान्स रहेकाेमा अहिले करिब ८० प्रतिशत औपचारिक माध्यमबाट आउन थालेको राष्ट्र बैंकको पछिल्लो तथ्यांकले देखाएको छ,’ ढकालले भने, ‘नेपालको पहिलो रेमिट्यान्स कम्पनीको रूपमा आईएमईको योगदान अवश्य धेरै नै छ । नेपालमा आउने रेमिट्यान्सको करिब ५० प्रतिशत बजार हिस्सा पनि बैंक तथा वित्तीय संस्थाको रहेको छ ।’

आईएमई सुरु गर्दा मासिक २ मिलियन डलर भित्र्याउने लक्ष्य राखेको भएपनि अहिले सय मिलियन डलरभन्दा बढी पुगेको ढकालले बताए ।

आईएमई राष्ट्र बैंकका साथै मलेसियाको केन्द्रीय बैंकमा पनि रेमिट्यान्स कारोबारको अनुमति पाउने पहिलो संस्था रहेको उनले बताए । मलेसियाको केन्द्रीय बैंकले आईएमईलाई अनुमति दिएसँगै ५ वर्षसम्म कुनै पनि रेमिट कम्पनीलाई अनुमति नदिएको ढकालले स्मरण गरे ।

ढकालले आईएमईलाई चाँडै नै पब्लिकमा लैजाने र जनतालाई नै मालिक बनाउने अर्को पहल रहेको सुनाए । रेमिट्यान्स सेवालाई थप परिष्कृत र सहज बनाउन दुई वटा रेमिट कम्पनीहरू बीच मर्जर गरी एकिकृत कारोबार सुरु गरेको ढकालले बताए ।

‘रेमिट्यान्सको आकार बढेको, डिजिटल प्रविधिको विकाससँगै रेमिट्यान्सलाई डिजिटल माध्यमबाट सिधै वालेटमा वा बैंक खातामा पठाउन सकिने भइसकेको छ । यसले गर्दा रेमिट्यान्स कम्पनीको क्षेत्राधिकारका बारे पनि सोच्नुपर्ने बेला आएको छ । यसमा राष्ट्र बैंकलले पनि पक्कै केही गर्नेछ,’ ढकालले भने । उनले आईएमई लिमिटेडको सञ्चालक समितिको जिम्मेवारीबाट बिदा लिने पनि घोषणा गरेका छन् ।


प्रतिकृया दिनुहोस