२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

नेविसंघ कार्यकर्ताले त्रिवि उपकुलपतिको कुर्सी जलाए

- विशेष खबर बुधबार १०, असार २०७७ ०२:४९

नेविसंघ कार्यकर्ताले त्रिवि उपकुलपतिको कुर्सी जलाए

काठमाडौं  । नेविसंघका कार्यकर्ताले बुधबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बाँस्कोटाको कुर्सी जलाएका छन् ।

विभिन्न माग लिएर उपकुलपति कार्यालय पुगेका विद्यार्थीलाई अपमान गर्न खोजेपछि आक्रोशित विद्यार्थीले उपकुलपतिको कुुर्सी कार्यकक्षबाहिर ल्याएर आगो लगाएको नेविसंघका एक नेताले बताए ।

ती नेताका अनुसार नेविसंघले रजिष्ट्रार, रेक्टरको कार्यकक्षमा समेत तालाबन्दी गरेका छन् । इकाईले केही दिनअघि अनलाइन कक्षा प्रभावकारी बनाउन, इन्टरनेटमा सहुलियत दिन र राजनीतिक भागबण्डाको आधारमा नियुक्ति नगर्न पदाधिकारीको ध्यानाकर्षण गराएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको दबाबमा उपकुलपति बाँस्कोटाले चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डा. दिव्यासिंह शाहलाई डिन नियुक्त गरिएको भन्दै नेविसंघले असन्तुष्टि जनाएको थियो ।

नेविसंघ केन्द्रीय समितिले विश्वविद्यालयमा भइरहेका गतिविधिबारे ध्यानार्कषण गराउँदै बुधबार एक विज्ञप्ति जारी गरेको थियो । अध्यक्ष राजिव ढुङ्गानाले विज्ञप्ति जारी गरेको केही घण्टा नबित्दै उपकुलपतिको कुर्सीमा आगजनी गरिएको हो ।

नेविसंघले त्रिविमा सत्तारुढ नेकपाको सिफारिसको आधारमा पदाधिकारी, विभागीय प्रमुख र क्याम्पस प्रमुख नियुक्ति गरिएको आरोप लगाएको छ । वरिष्ठता र क्षमताको आधारमा विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न माग गरिएको छ ।

 


#त्रिभुवन विश्वविद्यालय

प्रतिकृया दिनुहोस