२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

आईपीएल अक्सन : कुन खेलाडी कुन क्लबमा ?

- विशेष खबर बुधबार ०४, पुष २०८० ०९:२०

आईपीएल अक्सन : कुन खेलाडी कुन क्लबमा ?

काठमाडौं । आगामी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको अक्सन (खेलाडी खरिद प्रक्रिया) मा अस्ट्रेलियन खेलाडी मिचेल स्टार्क कीर्तिमानी मूल्यमा बिक्री भएका छन् ।

कोलकाता नाइट राइडर्सले उनलाई २४ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेकाे हाे । आईपीएलको हालसम्मको इतिहासमा यसअघि कुनै पनि खेलाडी यति धेरै मूल्यमा बिक्री भएका थिएनन् । स्टार्कको न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ राखिएको थियो ।

मिचेल स्टार्कभन्दा केही समयअघि अर्का अस्ट्रेलियन खेलाडी प्याट कमिन्सले सबैभन्दा महँगा खेलाडीको कीर्तिमान बनाएका थिए । कमिन्सलाई सनराइजर्स हैदराबादले २० करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको थियो । त्यसअघि आईपीएलको इतिहासमा सबैभन्दा महँगा खेलाडी साम करन थिए । उनलाई पञ्जाबले सन् २०२३ मा १८ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको थियो ।

कमिन्स अस्ट्रेलियालाई आईसीसी एकदिवसीय विश्वकपको उपाधि चुमाउने कप्तान पनि हुन् । उनकै कप्तानीमा अस्ट्रेलियाले हालै आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको थियो ।  

न्यूनतम मूल्य एक करोड भारतीय रुपैयाँ ताकिएका वेस्ट इन्डिजका अल्जारी जोसेफलाई रोयल च्यालेन्जर्स बैंगलोरले ११ करोड ५० लाख भारतीय रुपैयाँमा किनेको छ भने भारतका उमेश यादवलाई गुजरात टाइटन्सले पाँच करोड ८० लाख रुपैयाँमा खरिद गरेको छ।

भारतकै शिवम माभीलाई लखनउ सुपर जाइन्ट्सले ६ करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ भने दक्षिण अफ्रिकाका ट्रिस्टन स्टब्सलाई दिल्ली क्यापिटल्सले ५० लाख भारतीय रुपैयाँमा किनेकाे छ ।  

यसैगरी भारतीय खेलाडी केएस भरतलाई कोलकाता नाइट राइडर्सले खरिद गरेको छ । भरतलाई कोलकाताले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । भारतकै चैतन्य सकरियालाई पनि कोलकाता नाइट राइडर्सले ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ। यी दुवै जनाको न्यूनतम मूल्य ५० लाख नै तोकिएको थियो ।

यसैगरी श्रीलङ्काका दिल्सान मदुसानकालाई मुम्बई इन्डियन्सले खरिद गरेको छ । न्यूनतम मूल्य ५० लाख ताेकिएका उनलाई मुम्बईले चार करोड ६० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो ।  

यसपटक अक्सनमा भारतीय खेलाडी जयदेब उनादकट सनराइजर्स हैदराबादको रोजाइमा परेका छन् । न्यूनतम मूल्य ५० लाख ताेकिएका उनलाई हैदराबादले एक करोड ६० लाख भारतीय रुपैयाँमा किनेको हो । भारतकै हर्षल पटेललाई पञ्जाब किङ्सले ११ करोड ७५ लाख भारतीय रुपैयाँमा खरिद गरेको छ । 

न्युजिल्यान्डका ड्यारेल मिचेललाई चेन्नई सुपर किङ्सले १४ करोड भारतीय रुपैयाँ खर्चिएको छ । दक्षिण अफ्रिकाका जेराल्ड कोट्जीलाई मुम्बई इन्डियन्सले पाँच करोड भारतीय रुपैयाँमा किनेको छ।  

यसैगरी अफगानिस्तानका अलराउन्डर अजमतुल्लाह ओमरजाई गुजरात टाइटन्सले ५० लाख भारतीय रुपैयाँमा किनेको छ । उनको न्यूनतम मूल्य पनि ५० लाख भारतीय रुपैयाँ नै ताकिएको थियो ।

यसैगरी इङ्ल्यान्डका अलराउन्डर क्रिस वाक्सलाई पञ्जाब किङ्सले चार करोड २० लाख भारतीय रुपैयाँमा खरिद गरेको हो । उनकाे न्यूनतम मूल्य दुई करोड भारतीय रुपैयाँ तोकिएको थियो ।

यसैगरी भारतीय खेलाडी सार्दुल ठाकुरलाई चेन्नई सुपर किङ्सले चार करोड भारतीय रुपैयाँमा खरिद गरेको छ । श्रीलङ्काका वानिन्दु हसरंगालाई सनराइजर्स हैदराबादले एक करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ भने न्युजिल्यान्डका युवा ब्याट्सम्यान रचिन रविन्द्रलाई चेन्नई सुपर किङ्सले एक करोड ८० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ।

यसैगरी वेस्ट इन्डिजका रोभमन पावेललाई राजस्थान रोयल्सले सात करोड ४० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ । यसपटक अक्सनमा उनको न्यूनतम मूल्य एक करोड भारतीय रुपैयाँ निर्धारण गरिएको थियो ।  इङ्ल्यान्डका ह्यारी ब्रुकलाई दिल्ली क्यापिटल्सले चार करोड भारतीय रुपैयाँ खरिद गरेको छ ।  

अस्ट्रेलियाका ट्राभिस हेडलाई सनराइजर्स हैदराबादले ६ करोड ८० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ । न्यूनतम मूल्य केवल २० लाख भारतीय रुपैयाँ ताकिएका भारतीय खेलाडी शुभम दुबेलाई राजस्थान रोयल्सले पाँच करोड ८० लाख भारतीय रुपैयाँमा खरिद गरेको छ।


प्रतिकृया दिनुहोस