२०८१ मङि्सर ०७ गते शुक्रबार | 22 November, 2024

काँग्रेसद्वारा १२० स्थानबाट सरकारलाई विशेष ज्ञापन

मङ्गलबार ०२, असार २०७७ १०:३२

काँग्रेसद्वारा १२० स्थानबाट सरकारलाई विशेष ज्ञापन

काठमाडाैं । काँग्रेसद्वारा १२० स्थानबाट सरकारलाई विशेष ज्ञापनपत्रप्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरस सङ्क्रमण महामारी विरुद्धको सङ्घर्षमा देखिएको अर्कमण्यता, भ्रष्टाचार र गैरजिम्मेवार प्रवृत्तिका विरुद्ध मंगलबार स्वदेश र विदेशका १२० स्थानबाट प्रधानमन्त्रीलाई विशेष ज्ञापनपत्र बुझाएको छ ।

प्रतिकुल परिस्थितिमा पनि काँंग्रेसले कोरोना विरुद्धको सङ्घर्षमा समस्त नेपाली जनताको असन्तुष्टि, सुझाव र आग्रहलाई सरकार एवं प्रधानमन्त्री समक्ष प्रस्तुत गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

काँग्रेसले सामाजिक दुरी कायम गर्दै सङ्घीय संसद्, संसदीय दलको तर्फबाट प्रधानमन्त्री समक्ष, काँग्रेस प्रदेशसभा संसदीय दलको तर्फबाट प्रदेश सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारको मुख्यमन्त्री समक्ष र सङ्घीय सरकारसँग सम्बन्धित विषयवस्तुमा प्रदेश सरकारका मुख्यमन्त्रीमार्फत् प्रधानमन्त्री समक्ष विशेष ज्ञापन पत्र बुझाएको हो ।

यसैगरी काँग्रेसका ७७ वटै जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीमार्फत् प्रधानमन्त्रीसमक्ष, विदेशस्थित नेपाली जनसम्पर्क समितिको तर्फबाट नेपाली दूतावासमार्फत् प्रधानमन्त्री समक्ष ज्ञापन पत्र बुझाएको मुख्यसचिव पौडेलले बताए ।

कोरोनाका कारण विकराल बन्दै गएको परिस्थिति बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै बुझाइएको विशेष ज्ञापनपत्रमार्फत आरडिटी परीक्षण तत्काल रोकेर पिसीआर परीक्षणको दायरा व्यापक बढाइनुपर्ने, स्वास्थ सामग्रीको अपर्याप्तस्थिति तत्काल अन्त्य गरेर अत्यावश्यक स्वास्थ्य सामग्रीको पर्याप्त व्यवस्थापन गरिनुपर्ने माग गरिएको छ ।

यसैगरी क्वारेन्टिनमा मृत्युदेखि बलात्कारसम्मको घटनालाई गम्भीरतापूर्वक लिएर दोषीलाई कारवाही गर्दै तत्काल देशव्यापी रूपमा क्वारेन्टिनहरुलाई मापदण्डयुक्त बनाइनुपर्ने, श्रमिक, बेरोजगार, विद्यार्थी, अपाङ्गता भएका व्यक्ति र एकल महिलाका लागि विशेष राहत प्रबन्ध गरिनुपर्ने काँग्रेसले माग गरेको छ ।

बिदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने क्रममा निर्धारित अत्यन्तै महङ्गो हवाई भाडा फिर्ता लिइ खर्च हाल्न नसक्ने स्थितिमा पुगेका श्रमिकलाई निःशुल्क उद्धार गर्नुपर्ने, स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारका दोषीलाई कारवाही र यस बीचमा भएको भनिएको दश अर्ब रकमको हिसाब सार्वजनिक गरिनुपर्ने ज्ञापन पत्रमा माग गरिएको छ ।

लकडाउनका कारण बन्द विद्यार्थीको पठनपाठन सुचारु गर्न राष्ट्रिय विमर्श साथ उनीहरुको शैक्षिक भविष्य सुरक्षाका लागि विशेष कार्य योजना यथाशिघ्र निर्माण गरिनुपर्ने, खेतीको मौसमलाई ध्यानमा राखेर कृषि उत्पादनका सम्बन्धमा मल, बीउदेखि आवश्यक प्रोत्साहन सम्मको, समन्वयमा सम्बन्धित निकायहरुले तीब्र रुपले कार्य गर्नुपर्ने, साना–ठूला व्यवसायीले भोग्नु परेको आर्थिक चुनौती सामना गर्न आवश्यक राहत योजना निर्माण गर्दै लकडाउन खुलेपछि मात्रै कर तिर्ने सहुलियतपूर्ण व्यवस्थापन गरिनुपर्ने र औद्योगिक उत्पादनमा सरिक श्रमिकदेखि श्रमजीवी पत्रकारसम्मको रोजगार सुरक्षा गर्दै, मिडिया हाउससम्मलाई राहत योजना ल्याइनुपर्ने काँग्रेसको माग छ ।

नेपाली कांग्रेस दार्चुलाले जिल्ला सभापति ललितसिंह बोहराद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा प्रमुख प्रतिपक्षको साथ समर्थनका बावजुत पनि सरकार कोरोना भाइरसको महामारी नियन्त्रण गर्न, देश र जनतालाई विपदबाट सुरक्षित राख्न पूर्ण रुपले असफल देखिएको कांग्रेको आरोप छ । 

विज्ञप्तीमा कांग्रेसको निरन्तरको सहयोग, सिमित स्रोत र साधनका वावजुत पनि स्वास्थ्यकर्मीहरुको अग्रपंक्तिमा खटाई, सञ्चारमाध्यम, नागरिक समाज र आम जनताको खबरदारी र साथ सहयोगको अनुकुलताको वावजुतपनि सरकारको अकर्मण्यता, असक्षमता र असम्वेदनशिलताका कारण कोरोना बिरुद्धको लडाइमा अनपेक्षित क्षति बेहोर्नुपरेको जनाइएको छ । 

कोरोना भाईरसको व्यवस्थापनमा सरकारले १० अर्ब खर्च देखाएको र सरकारी निकायबाट फरक–फरक तथ्याङ्क आएको अवस्थामा व्यापक भ्रष्टाचार भएको सार्वजनिक भइरहेको भन्दै स्वतन्त्र निष्पक्ष छानविन गरी भ्रष्टाचारमा संलग्नलाई कारबाहीको समेत माग गरेको छ ।

यस्तै नेपाली भुमी कालापानी, लिपुलेक क्षेत्र नजिकै बस्ने नेपाली नागरिकका आधारभुत आवश्यकता परिपुर्ती गर्न माग गरेको छ । सो क्षेत्रमा बसोबास गर्ने नागरिकलाई तत्काल खाद्यान्नको व्यवस्था र नेपालकै बाटो भएर जान सक्ने गरी व्यवस्था गर्न माग ज्ञापन पत्रमा उल्लेख छ । 


#काँग्रेस

प्रतिकृया दिनुहोस