२०८१ बैशाख २६ गते बुधबार | 8 May, 2024

विनियोजन विधेयक पारित, खर्च कटौती प्रस्ताव अस्वीकृत

बुधबार २८, जेठ २०७७ ०७:३३

विनियोजन विधेयक पारित, खर्च कटौती प्रस्ताव अस्वीकृत

काठमाडाैं । प्रतिनिधिसभाले विनियोजन विधेयक २०७७ लाई  पारित गरेको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेकामा सदनले बहुमतले पारित गरेको हो ।

यसअघि अर्थमन्त्री युवराज खतिवडाले  बैठकमा उक्त विनियोजन विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।बैठकमा सभामुखले उक्त प्रस्ताव बहुमतले पारित भएको घोषणा गरे ।

संवैधानिक व्यवस्थानुसार अर्थमन्त्री खतिवडाले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०७७/७८ को राजश्व र व्ययको वार्षिक विवरण(बजेट) प्रस्तुत गरेका थिए ।  सरकारले आगामी आवका लागि १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट प्रस्तुत गरेको थियो ।

उक्त बजेटमा चालुतर्फ नौ खर्ब ४८ अर्ब ९४ करोड र पूँजीगततर्फ ३ खर्ब ५२ अर्ब ९१ करोड विनियोजन गरिएको छ । बजेटमा वित्तीय व्यवस्थातर्फ एक खर्ब ७२ अर्ब  ७९ करोड व्यवस्थापन गरिएको छ ।

बजेटका स्रोतमध्ये राजश्वबाट आठ खर्ब ८९ अर्ब ६२ करोड र वैदेशिक अनुदानबाट ६० अर्ब ५२ करोड सङ्कलन हुने अनुमान गरिएको छ ।

विनियोजन विधेयकका विभिन्न शीर्षकमाथि यही जेठ २३, २४ र २५ गते सदनमा छलफल भएको थियो भने तिनमाथि उठेका प्रश्नको सम्बन्धित मन्त्रीले  जेठ २७ र २८ गते जवाफ दिए ।

प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्, राष्ट्रिय योजना आयोगको सचिवालय एवं राष्ट्रपति र उपराष्ट्रपति कार्यालयका शीर्षकमाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले आज जवाफ दिएका थिए ।

खर्च कटौती प्रस्ताव अस्वीकृत

प्रतिनिधिसभाले विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकमा प्रतिपक्ष दलका सदस्यद्वारा प्रस्तुत  २६ वटै खर्च कटौतीसम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले ती प्रस्ताव बैठकमा निर्णयार्थ प्रस्तुत गरेकामा सदनको बहुमतले अस्वीकृत गरेको हो । 

उक्त खर्च कटौतीसम्बन्धी प्रस्ताव नेपाली कांग्रेसका पुष्पा भुसाल,  उमा रेग्मी, सञ्जयकुमार गौतम, लक्ष्मी परियार, सुजाता परियार, डा मीनेन्द्रप्रसाद रिजाल, बहादुरसिंह लामा, डिला सङ्ग्रौला, राजेन्द्रकुमार केसी र देवेन्द्रराज कँडेलले प्रस्तुत गरेका थिए । सोही दलका मीनबहादुर विश्वकर्मा, पार्वता डिसी चौधरी, पद्मनारायण चौधरी, ज्ञानेनद्रबहादुर कार्की, गगनकुमार थापा, अतहरकमाल मुसलमान, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान, रङ्गमती शाही र प्रकाशमान सिंहले विनियोजन विधेयकका विभिन्न शीर्षकमा खर्च कटौतीसम्बन्धी प्रस्ताव राखेका थिए । 

राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल, नेपाल मजदूर किसान पार्टीका प्रेम सुवाल, समाजवादी पार्टीका प्रदीप यादव र रामबाबुकुमार यादवको खर्च कटौती प्रस्तावलाई पनि सदनले अस्वीकृत गरेको छ ।

यसअघि बैठकमा सभामुखले खर्च कटौतीसम्बन्धी प्रस्ताव फिर्ता लिन सम्बन्धित सदस्यलाई समय दिएकामा उनीहरुले आफूहरुले उठाएको विषयमा चित्त बुझ्दो जवाफ नआएको जनाउँदै फिर्ता नलिने जवाफ दिएका थिए ।


#संसद

प्रतिकृया दिनुहोस