२०८१ बैशाख १९ गते बुधबार | 1 May, 2024

नेताको नजरमा नेम्वाङ : अप्ठेरो र जटिलता फुकाउने नेता

- विशेष खबर मङ्गलबार २६, भदौ २०८० ११:१३

नेताको नजरमा नेम्वाङ : अप्ठेरो र जटिलता फुकाउने नेता

काठमाडौं । राजनीतिक दलका नेताले नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङको अभाव सधैँ खड्किरहने बताएका छन् । 

नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलि दिन ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पुगेका शीर्ष नेताले उनको निधनले नेपाली राजनीतिलाई अपूरणीय क्षति पुगेको बताए।  

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सबै अप्ठेरा र जटिलतालाई पार गर्न अगुवाइ गर्ने नेताका रूपमा नेम्वाङ रहेकाले उनको योगदानलाई इतिहासले सधैंभरि स्मरण गर्ने बताए। 

उनले नयाँ पुस्ताले पनि नेता नेम्वाङबाट प्रेरणा लिई अगाडि बढ्नुपर्ने धारणा राखे । 'उहाँ सादा, स्वच्छ छविको नेताको रूपमा रहनुहुन्थ्यो,' नेता नेपालले भने, 'मुलुकमा सुशासन स्थापना होस् भन्ने चाहना पनि उहाँमा रहेको थियो । संविधान निर्माण मात्र नभएर कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने कुरा पनि उहाँमा अत्यन्त धेरै हुटहुटी रहेको थियो ।'

नेता नेपालले नेम्वाङ मुलुकको राजनीतिमा जहिले पनि सहमति र समझदारीको वातावरण निर्माण गर्नुपर्दछ भन्ने कुरामा दृढ रहेको भन्दै उनको निधनले सिङ्गो लोकतान्त्रिक आन्दोलन, कम्युनिष्ट आन्दोलन र परिवर्तनको आन्दोलनका निम्ति ठूलो क्षति भएको बताए।

उनले संविधान निर्माण र सदन सञ्चालन गर्ने कुरामा पनि नेम्वाङकाे कुशलता उदाहरणीय रहेको बताए । 'संविधान निर्माण र संविधानको व्यवस्थापन गर्ने बेलामा उहाँले जुन खुबी प्रदर्शन गर्नुभएको थियो त्यो कमै व्यक्तिबाट त्यस्तो हुन्छ,' उनले भने, 'उहाँ मिलनसार, मृदृभाषी, शालीन, धैर्य, सबैलाई बुझाउनुसक्ने खुबी र सहिष्णु पनि हुनुहुन्थ्यो ।'

नेता नेपालले नेम्वाङ आफ्नो निम्ति नभएर देशका निम्ति केही गरौं भन्ने भावना र परिवर्तनलाई संस्थागत गर्ने सोच रहेको उल्लेख गर्दै उनको आवश्यकता अहिले झन टड्कारो रहेको बताए । 'नेता नेम्वाङसँग २०५१ सालमा एउटै सरकारमा रहेको उल्लेख गर्दै उहाँलाई असल व्यक्ति, लोकतान्त्रिक योद्धा र परिवर्तनकारी व्यक्तिका रूपमा र कम्युनिष्ट पार्टीको पनि गौरव गर्न लायक योद्धाका रूपमा स्मरण गर्न चाहन्छु ।'

नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले नेपाली राजनीति अहिले असहज अवस्थामा रहेको बेला नेता नेम्वाङको अभाव खड्किने बताए । 'धेरै अप्ठेरो पर्दा पनि तिक्तभावबाट छुट्टिनुपर्दा उहाँ मुसुक्क हाँसेर के गर्ने हो कसरी अगाडि जाने  हो भन्नुहुन्थ्यो,' उनले भने, 'अप्ठेरो र तिक्त बेला उहाँ सबै नेतासँग मुुसुक्क हाँसेर राजनीतिको एउटा बाटो निकाल्यो भन्ने मान्छे उहाँबाहेक अरु कोही छैन होला सायद ।' उनले हरेक अप्ठेरोमा नेम्वाङलाई आफूले खोजिरहने बताए । 

नेकपा माओवादी केन्द्रका नेता वर्षामान पुनले नेम्वाङ सन्तुलित र परिपक्व नेता भएको बताए । उनले राष्ट्रिय समस्या भएका सबै नेतालाई एक ठाउँमा ल्याउन सक्ने र राजनीतिक दलहरू अप्ठेरो अवस्थामा रहेको बेला पनि वार्ता, संवाद र सहकार्य गर्नसक्ने खुबी भएको नेताको रूपमा स्मरण गर्ने बताए। 

नेता पुनले लामो समयसम्म पनि वामआन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उनको अभाव खड्किरहने बताए। उनले नेता नेम्वाङलाई मिलनसार, सबैसँग समान व्यवहार गर्नसक्ने नेताको रूपमा आफूले चिन्ने गरेको बताए। 'नेकपा छँदा पनि नेताबीचको विवाद हुँदा उहाँले सहजीकरण गर्ने र सबैले विश्वास गर्ने नेता हुनुहुन्थ्यो,' नेता पुनले भने, 'शान्ति निर्माणका बाँकी काम टुङ्ग्याउन उहाँले निकै नै मेहनत गरिरहनुभएको थियो ।'

उनले नेता नेम्वाङ सङ्क्रमणकालीन काम सकाउन र पीडितमैत्री कानुन बनाउन तथा सत्य निरूपण तथा मेलमिलाप आयोगलाई पनि त्यसअनुसारको काम गर्ने वातावरण बनाउन पनि क्रियाशील रहेकाे बताए । 


#एमाले

प्रतिकृया दिनुहोस