२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

राजकीय सम्मानसाथ नेम्वाङको अन्त्येष्टि हुने, एक दिन बिदा दिने सरकारको निर्णय

- विशेष खबर मङ्गलबार २६, भदौ २०८० ११:१७

राजकीय सम्मानसाथ नेम्वाङको अन्त्येष्टि हुने, एक दिन बिदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।

संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए। 

मन्त्री किरातीका अनुसार सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । नेम्वाङका दुवै छोराहरू विदेशमा रहेको र उनीहरू आउँदै गरेकाले अन्त्येष्टि हुने दिन बिदा दिने निर्णय भएको उनले बताए । 

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा सोमबार राति नेम्वाङको निधन भएको हो । एमाले उपाध्यक्षसमेत रहेका नेम्वाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम-२ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् ।

संविधानसभाका अध्यक्ष नेम्वाङको पार्थिव शरीर केहीबेरपछि पार्टी केन्द्रीय कार्यालयमा लगिने भएकाे छ। नेम्वाङको पार्थिव शरीर आज दिनभर पार्टी कार्यालयमा राखिने र बुधबार छोराहरू आएपछि अन्त्येष्टि गरिने जनाइएको छ ।

 


#सुवास नेम्वाङ

प्रतिकृया दिनुहोस