२०८१ बैशाख २१ गते शुक्रबार | 3 May, 2024

बिपी साहित्य महोत्सव : साहित्य र राजनीतिमा विचार विमर्शको संगम

- विशेष खबर सोमबार २५, भदौ २०८० ११:२७

बिपी साहित्य महोत्सव : साहित्य र राजनीतिमा विचार विमर्शको संगम

काठमाडौं । नेपाली कांग्रेसले पहिलो पटक आयोजना गरेको ऐतिहासिक ‘बिपी साहित्य महोत्सव—२०८०’ को दोस्रो दिन भदौ २५ गते बिहान ‘वीर गणेशमान’ चलचित्र प्रदर्शन गरी कार्यक्रमको प्रारम्भ गरिएको थियो ।
 
चलचित्रको प्रदर्शन समाप्तिपछि बिहान ११ बजेको पहिलो सत्रमा भारतबाट आउनुभएका प्राध्यापक आनन्द कुमारको ‘आजको लोकतान्त्रिक समाजावादमा मार्क्स, गान्धी र बिपीको खोज’ विषयमा सम्भाषण रहेको थियो । आफ्नो धारणा व्यक्त गर्ने क्रममा प्रा आनन्दले विपी कोइराला नेपालकै परिभाषा बनेकाे, विपी कोइरालाले गणेशमाान सिंह, कृष्णप्रसाद भट्टराई र सुवर्ण शम्शेर जस्ता सारथीहरू पाएको बताए।
 
उनले मार्क्स, गान्धी र बिपीमा केही समानता रहेको उल्लेख गर्दै मार्क्स पूँजीवाद विरुद्ध, गान्धी साम्राज्यवादविरुद्ध र विपी कोइराला सामान्तवादका विरुद्ध लडिरहनु परेको धारणा व्यक्त गरे। राजनीतिमा चाहिने लामो धैर्य र तीव्र कार्य दुइटै कुरा बिपीमा रहेको उनको भनाइ थियो । 

सत्रको अन्त्यमा कार्यक्रमका संयोजक एवं सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले उनलाई महोत्सवको लोगो अङ्कित मायाको चिनो प्रदान गरेका थिए ।
 
आजको कार्यक्रममा पाँच विभिन्न शीर्षकमा सत्रहरू सञ्चालन भएका थिए । दोस्रो सत्र ‘बिपीले नपाएका १५ वर्ष’को सहजीकरण पार्टीका महामन्त्री गगनकुमार थापाले गरेका थिए । वक्ताको रूपमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले र मञ्चला झा थिए भने लाइभआर्ट महेश आचार्यले गरेका थिए ।
 
त्यस्तै ‘बिपीका आख्यानमा मधेस’ शीर्षकको तेस्रो सत्रमा वक्ताका रूपमा सनत रेग्मी, नयनराज पाण्डे र सञ्जीता बर्मा थिए भने सहजीकरण श्याम साहले गरेका थिए । उक्त सत्रमा लाइभआर्ट धनबहादुर याखाले गरेका थिए ।

त्यसैगरी, चौथो सत्र ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ रहेको थियो । सो सत्रमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई, पूर्वपरराष्ट्रमन्त्री डा नारायण खड्का, अर्का पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, कूटनीतिज्ञ इन्द्र अधिकारी वक्ताका रूपमा रहेका थिए । सुधीर शर्माले सत्रको सहजीकरण गरेका थिए भने रविन कोइरालाले लाइभ आर्ट गरेका थिए ।
 
पाँचाैं सत्र ‘युवा स्रष्टामा बिपी पठन’ विषयमा बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराई वक्ताका रूपमा थिए भने वसन्त बस्नेतले कार्यक्रमको सहजीकरण गरेका थिए । लाइभ आर्टमा जजुकाजी श्रेष्ठ थिए।
 
आजको साँझ गजल साँझका रूपमा रह्यो । करिब ३० जना गजलकारले गजल प्रस्तुत गरेका थिए, जसको सहजीकरण इन्द्र लम्सालले गरेका थिए । विभिन्न सत्रको बीचमा सांस्कृतिक झाँकीहरूसमेत प्रदर्शन गरिएका थिए । पार्टीको केन्द्रीय कार्यालयमा आज राखिएको रक्तदान कार्यक्रममा ६६ जनाले रक्तदान गरेका थिए।

बिपी नगर सानेपामा बिहानदेखि सहभागीहरूको आगमनले खचाखच भरिएको थियो । कांग्रेस पार्टीका वर्तमान तथा पूर्वपदाधिकारी, केन्द्रीय सदस्यहरू, मन्त्रीहरू, सांसदहरू, भ्रातृ एवं शुभेच्छुक सङ्घसंस्थाका प्रतिनिधिहरू, विभिन्न विधाका विद्वान, साहित्यकार, लेखक, पत्रकार, चित्रकार, राजनीतिज्ञ, युवा, विद्यार्थीलगायतको सहभागिता रहेको थियो ।
 
भोलि भदौ २६ गते निर्धारित समयमा महोत्सवको कार्यक्रम सुरु हुने पार्टी कार्यालयले जनाएको छ । बिहान ९ देखि १०ः५० बजेसम्म ‘तीन घुम्ती’ चलचित्र प्रदर्शन गरिनेछ । बिहान ११ देखि १२ बजेसम्म चल्ने ‘बिपीको समाजवादी परिकल्पनामा शिक्षा’ सम्भाषणमा वक्ताका रूपमा केदारभक्त माथेमा र सहजीकरणमा डिल्लीराम सुवेदी रहनेछन् । त्यसैगरी १२ः१० देखि १ः१० बजेसम्म सञ्चालन हुने ‘समावेशीता, सामाजिक रूपान्तरण र बिपी’ शीर्षकमा चित्रलेखा यादव, आहुति र मोहना अन्सारी वक्ताका रूपमा रहनेछन् । कार्यक्रमको सहजीकरण हरिबहादुर थापाले गर्नेछन् भने लाइभआर्ट भीषण राजभण्डारीले गर्ने कांग्रेसको सूचना, सञ्चार तथा प्रचार प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।  
 
त्यसैगरी, अपराह्न १ः२० देखि २ः२० सम्म सञ्चालन हुने ‘समय र सबाल्ट्रन’मा शिव रिजाल, तारालाल श्रेष्ठ र धनकुमारी सुनार वक्ताका रूपमा रहनेछन् । सहजीकरण कुमारी लामाले गर्नेछन् भने लाइभआर्ट नरबहादुर विकले गर्नेछन्।

दिउँसो २ः३० देखि ३ः४० सम्म चल्ने ‘बिपीका आख्यानमा नारी’ सत्रमा नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी वक्ताका रूपमा रहनेछन् भने सहजीकरणमा सीमा आभास र लाइभआर्ट सुनिता थापा रहनेछन् । 

अन्तिम सत्र दिउँसो ३ः५० देखि साँझ ५ः०० बजेसम्म सञ्चालन हुनेछ । ‘परिवारले बुझेका बिपी’ विचारको सत्रको वक्ताका रूपमा पार्टीका केन्द्रीय सदस्यहरू डा शशाङ्क कोइराला, डा शेखर कोइराला र सुजाता कोइराला रहनेछन् भने सहजीकरण जगत नेपालले गर्नेछन्। लाइभआर्ट मुकेश मल्लले गर्नेछन् ।
 
साँझ ५ः१० देखि ५ः३० बजेसम्म धन्यवाद ज्ञापनको कार्यक्रम रहेको छ । तत्पश्चात् ५ः४० देखि ७ः०० बजेसम्म चल्ने साङ्गीतिक साँझमा कुटुम्ब ब्यान्डको प्रस्तुति रहनेछ । भोलि २६ गते हुने तीनदिने महोत्सवको अन्तिम तथा समापन दिनको कार्यक्रममा व्यापक सहभागिताका लागि विभागले सबैमा अपिल गरेको छ ।


#काँग्रेस

प्रतिकृया दिनुहोस