२०८० चैत १६ गते शुक्रबार | 29 March, 2024

सुदूरपश्चिममा १०० दिनमा सरकार विस्तार

- विशेष खबर शनिबार ०६, जेठ २०८० ०९:२७

सुदूरपश्चिममा १०० दिनमा सरकार विस्तार

धनगढी । सुुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको नेतृत्व सम्हालेको १०१ औँ दिनमा शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । शाहले माओवादी केन्द्रबाट दुई जना मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसबाट एक जना मन्त्री नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् ।

यद्यपि उनको मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन । २६ माघ २०७९ मा मुख्यमन्त्री नियुक्त भएका शाहले २७ माघमा कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका नरेश शाहीलाई मन्त्री बनाएका थिए ।

त्यतिबेला देउवाले भौतिक पूर्वाधार मन्त्रालय र शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएका थिए भने बाँकी मन्त्रालय मुख्यमन्त्री मातहतमै थियो । ३ महिना भन्दा लामो अवधि ३ सदस्यीय मन्त्रिपरिषदलाई १०१ औं दिनमा ७ सदस्यीय बनाए पनि अझै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रिक्त छ ।

शनिबार माओवादीबाट सामाजिक विकास मन्त्रीमा नियुक्त भएका झपटबहादुर साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, कांग्रेसबाट आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका पृथ्वीबहादुर सिंहले शनिबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा माओवादीकी गीतादेवी माल नियुक्त भएकी छन् ।

मुख्यमन्त्री शाहले मुख्य सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिन सकेनन् । मुख्यमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् । तर उसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।


प्रतिकृया दिनुहोस