२०८१ बैशाख १३ गते बिहिबार | 25 April, 2024

क्रिकेटमा कीर्तिमानी जित

- विशेष खबर आइतबार २८, फागुन २०७९ १०:५२

क्रिकेटमा कीर्तिमानी जित

काठमाडौं । युनाइटेड अरब इमिरेट्स(यूएई)विरुद्धको खेलमा नेपालले कीर्तिमानी जितसँगै एक दिवसीय स्टाटसलाई जोगाएको छ ।

त्रिवि मैदान कीर्तिपुरमा आइतबार भएको खेलमा यूएईलाई १७७ रन अन्तरले हराउँदै एक दिवसीय खेलमा सर्वाधिक रनको जितको कीर्तिमानी रचेको हो। जितसँगै दोस्रो लिगमा नेपालको ३६ अंक भएको छ । बाँकी २ खेल नै पराजित भए पनि नेपाल अब विश्वकप लिग २ को शीर्ष ५ स्थानमा कामय रहनेछ । नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याएको युएई २२.५ ओभरमा ७१ रनमै अलआउट भयो।

खराब सुरुवात गरेको युएईले ६ ओभरभित्र चार विकेट गुमाएको थियो। नेपालका ललित राजवंशीले युएईका वृत्य अरिवन्दलाई इनिङ्ग्सको पाँचौ बलमा बोल्ड गरेका थिए। यस्तै तेस्रो ओभरको चौथो बलमा दिपेन्द्रसिंह ऐरीले आर्यन लक्रालाई पनि शून्यमै बोल्ड गर्दै नेपाललाई दोस्रो सफलता दिलाए। त्यतिबेला युएईले ६ रन मात्र जोडेको थियो। 

ललितले पाँचौ ओभरको चौथो बलमा मोहमद वासीमलाई ८ रनमा क्याच गराए। ललितले पहिलो र पाँचौ ओभर दुवैमा कुनै पनि रन नदिइ मेडन राखे।  ५ ओभरमा ८ रन जोडेको युएईले छैटौं ओभरको पहिलो बलमा अर्को विकेट गुमायो। सोमपाल कामीले आशिफ खानलाई ६ रनमा विकेटकिपर आशिफ शेखबाट क्याच गराउदा नेपालले चार विकेट लिन सफल भयो।

युएईले १४औं ओभरमा पाँचौ विकेट गुमायो। नेपाललाई पाँचौ सफलता दिलाउने क्रममा सन्दीप लामिछानेले १३.४ ओभरमा रोहान मुस्ताफालाई ६ रनमा एलबिडब्लूको धरापमा पारे। 

सुरुवातदेखि उत्कृष्ट लयमा देखिएका ललितले २९ रन बनाएर खेलिरहेका आयान खानलाई कुशल भुर्तेलको हातबाट क्याच गराएपछि नेपालले छैटौं विकेट लिएको थियो भने युएईमाथि झन् दबाब थपिएको थियो। सन्दीपले व्यक्तिगत दोस्रो र नेपालका लागि सातौं विकेट लिने क्रममा युएईका जावर फरिदलाई २ रनमा बोल्ड गरे। यस्तै गुल्सन झाले आश्वत भल्थापालाई १४ रनमा दिपेन्द्रबाट क्याच गराए। 

बलिङमा नेपालका ललित राजवंशीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ विकेट हात पारे। यस्तै सोमपाल कामी, गुल्सन झा र दिपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए। ललितले ७.५ ओभरमा २ मेडन राख्दा २० रन मात्र दिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४ बल खेल्न बाँकी छदा २४८ रनमा अलआउट भयो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ७७ रन जोडे। उनले ११२ बलमा ९ चौका प्रहार गरे। लगातार विकेट गुमेको स्थितिमा मैदान प्रवेश गरेका रोहितले भीम सार्कीसँग चौथो विकेटका लागि ५४ रन र आरिफ शेखसँग पाँचौ विकेटका लागि ८६ रनको साझेदारी गरेका थिए। जसका कारण नेपालको इनिङ उकासिएको थियो। 

अर्धशतक प्रहार गरेसँगै रोहित नेपालका लागि सर्वाधिक अर्धशतक प्रहार गर्ने खेलाडी भए। रोहितले नेपालका लागि एक शतकसहित आठ अर्धशतक प्रहार गरेका छ्न्। 

त्यसअघि नेपालका ओपनरद्वय आसिफ शेख शून्य र कुशल भुर्तेल ८ रनमा आउट भएका थिए। नेपालले पाँच ओभर चल्दै गर्दा दुवै ओपनरलाई गुमाएको थियो। ७.१ ओभरमा २२ रनको स्थितिमा तेस्रो विकेट गुमाउने क्रममा नेपालका कुशल मल्ल ९ रनमा पेभिलियन फर्के। 
 
सुरुवातमा दुवै इन्डबाट स्पिनरलाई बलिङ गराएको युएईका आयान खान र आर्यन लक्रा प्रभावशाली देखाएका थिए। आर्यनले आसिफलाई बोल्ड गर्दा आयानले भुर्तेललाई एलबिडब्लूको धरापमा पारेका थिए। 

तीन विकेट गएको अवस्थामा धैर्यपूर्वक ब्याटिङ गरेका भीम सार्कीले २९ रन जोडे। उनले ३७ बलमा ४ चौका प्रहार गरे। आरिफ शेखले जोडेको ४३ रन पनि नेपालका लागि महत्वपूर्ण सावित भयो। उनले ५२ बलमा ५ चौका हिर्काए। 

गुल्सन झाले ३७ रन जोडे। उनले ३२ बलमा १ चौका र ३ छक्का प्रहार गरे।  दिपेन्द्रसिंह ऐरीले आक्रामक ब्याटिङ गर्ने क्रममा १९ बलमा ३४ रन बनाए। उनले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे। सन्दीप लामिछाने र सोमपाल कामी २-२ रनमा आउट भए। बलिङमा युएईका आयान खान, जहूर खान, जावर फरिद र  रोहान मुस्ताफाले २-२ विकेट लिन सफल भए।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग-२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग-२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

आज जित हात पारेसँगै अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग-२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ। सिरिजमा नेपालले अब फागुन २९ मा पिएनजी र चैत २ मा युएईसँग खेल्नेछ।

लिग-२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। लिग-२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्।

तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। आजको जितले लिग-२ को अंक तालिकामा चौथो स्थानमा उक्लिएको नेपालले ३४ खेलबाट ३६ अंक जोडेको छ। बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।

नेपालको जितले अंक तालिकाको पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। 

आजको हारसँगै युएईको लिग-२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ। अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौं स्थाममै सीमित हुनेछ। नेपालले आज युएईलाई पराजित गरेसँगै अमेरिकाको एकदिवसीय मान्यता भने लिग-२ बाटै जोगिएको छ। लिग-२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३४ खेलबाट ११ अंक छ। लिग-२ बाट एकदिवसीय मान्यता जोगाउने असफल भएका युएई र पिएनजीका लागि विश्वकप क्वालिफायर प्लेअफबाट एकदिवसीय मान्यता जोगाउने अवसर भने हुनेछ।

 


प्रतिकृया दिनुहोस