२०७९ असोज १६ गते आइतबार | 2 October, 2022

असल समाजको सपना देख्ने प्रदीप गिरि

- रासस सोमबार ०६, भदौ २०७९ ०८:४३

असल समाजको सपना देख्ने प्रदीप गिरि

- किशाेर नेपाल 

मृत्युको अपेक्षा कसैले गर्दैन । त्यो जहिले पनि अनपेक्षित हुन्छ । हामी कसैले पनि प्रदीप गिरि यति छिटै दिवङ्गत हुनुहोला भनेर सोचेका थिएनौं । उहाँ उपचारका लागि भारतको मुम्बइमा हुनुहुन्थ्यो । हामी उहाँ छिटै निको भएर फर्किनु हुनेछ भन्ने अभिलाषामा बाँचेका थियौं । उहाँको निधन असामयिक थिएन । उहाँ उमेरको माथिल्लो हदमा हुनुहुन्थ्यो । यति हो कि, हाम्रो सोचाइमा उहाँको महाप्रस्थानको समय भएको थिएन । काललाई कसैले छल्न सक्दैन । प्रदीप गिरिले पनि त्यसलाई छल्न सक्नु भएन । 

अहिलेको जटिल राजनीतिक परिस्थितिमा प्रदीप गिरिको अनुपस्थिति सबैलाई खट्किएको छ । यो अस्वाभाविक होइन । आजको राजनीतिक परिदृश्यमा प्रदीप गिरि सर्वपक्षीय व्यक्तित्व हुनुहुन्थ्यो । उहाँ कांग्रेस पार्टीको टिकटमा चुनिएका सांसद भए पनि राजनीतिमा उहाँको सर्वमान्यता स्थापित भएको थियो । सबै दलका सदस्यहरु उहाँका कुरा सुन्दथे । उहाँका तर्कहरुको मनन् गर्दथे । उहाँका विचारहरुको कार्यान्वयन गर्न नसके पनि त्यसमा सहमति जनाउँथे । उहाँमा रहेको व्यापक ज्ञान, सिद्धान्तप्रतिको अविचलित निष्ठा, समाजवादी समाज निर्माणप्रतिको प्रतिबद्धता, निर्भिक र स्पष्टवादी स्वभावका कारण राजनीतिमा लाग्ने मानिसमा उहाँको ठूलो आकर्षण थियो । प्रतिनिधिसभा पटलमा अभिव्यक्त उहाँका विचारहरु सर्वदलीय आकर्षणका विषय हुन्थे । प्रदीप गिरिका विचार ओजस्वी त हुन्थे नै, सामाजिक हिसाबले पनि सन्तुलित हुन्थे । आफना विचारले समाजका सबै वर्ग र पक्षका मानिसलाई वशिभूत गर्नु सामान्य कुरा थिएन । 

देशका प्रतिष्ठित वरिष्ठ चिकित्सक मधु घिमिरे भन्छन्, ‘‘मैले धेरै राजनीतिज्ञलाई जाँच गर्ने र हेर्ने मौका पाएको छु । प्रदीप गिरिको पकड नीतिमाथि रहेको छ । नीतिको कुरामा उनी गहिराइमा पुगेका छन् । उनी आजका भ्रष्ट चरित्रको राजनीतिबाट अलग छन् । उनले पदको मोह अँगालेका छैनन् । पदको होडबाजीले राजनीतिलाई दूषित पार्दछ । पदको मोह त्याग नगरेसम्म राजनीति चोखो रहन सक्दैन भन्ने मान्यता राख्दथे प्रदीप गिरि ।’’

धेरैजसो वुद्धिजीवीहरु प्रदीप गिरिलाई बीपीपछिको सबैभन्दा प्रभावशाली मार्गदर्शकका रुपमा लिन्छन् । आजको राजनीतिको मुख्य समस्या भनेको यसमा नैतिक तत्वको अतिशय अभाव हो । अधिकारको दुरुपयोग तीब्र गतिमा आकासिएको छ । आदर्शका प्रारुप खजमजिएका छन् । परस्परमा अहङ्कारको लडाइँ चलिरहेको छ । राजनीतिमा लागेका मानिसले विनयशीलता गुमाउँदै गएका छन् । राजनीतिज्ञहरु असल कुराका पक्षमा आपूmलाई उभ्याउन चाहँदैनन् । व्यक्तिगत स्वार्थको पोषणका लागि जस्तोसुकै गलत सम्झौता गर्न पनि पछि पर्दैनन् ।

राजनीतिक दलका सदस्य र नेताहरु प्रदीप गिरिजस्ता मानिसको महिमा गाउन चुक्दैनन् । तर, उनीहरुले देखाएको बाटोमा हिंडन चाहदैनन् । किनभने सत्यको बाटो कठोर हुन्छ । सत्यको बाटो हिंडन चाहने मानिसले धेरै दुर्गम अवस्था भोग्नुपर्ने हुन्छ । उसका परिवारले दुःख पाउँछन् । सामाजिक उत्थानका लागि दुःख पाउने व्यक्तिको प्रशंसा होइन, जग हँसाइ हुन्छ ।

यो पंक्तिकार प्रदीप गिरिको सङ्गतमा आउँदा भर्खर १४ वर्षमा पाइला टेकेको थियो । त्यसपछिको यो लामो समयमा मैले प्रदीप गिरिको विचार र व्यक्तित्व समान पाएको छु । हो, उहाँका विचारहरु प्रखर भएका छन् । व्यक्तित्वमा निखार आएको छ र आवाजमा आधिकारिकता थपिएको छ । तर, उहाँको स्वप्नजीवी स्वभावमा कहिल्यै परिवर्तन आएन । उहाँले जस्तोसुकै खराव समयमा पनि असल समाजको सपना देख्नुभयो । परिवर्तनको अवश्यम्भावितामा उहाँको गहिरो विश्वास थियो । युवा शक्तिमा जागरण ल्याउन उहाँले थुप्रै काम गर्नु भएको छ । उहाँका योगदानका परिणामहरु छिटै देख्न पाइने आशा गरौं ।

प्रदीप गिरि बीपी कोइरालासँग त निकट हुनुहुन्थ्यो नै । उहाँको सम्बन्ध शहीद सरोजप्रसाद कोइरालासँग पनि प्रगाढ थियो । निर्दलीय पञ्चायत व्यवस्थाका गुण्डाहरु भारत भूमिमा पसेर कोइरालाको हत्या गरे । त्यो घटनाले प्रदीप गिरिलाई अत्यन्त बिह्वल बनायो । त्यतिखेर उहाँ बनारसमा अध्ययन गर्दै हुनुहुन्थ्यो । त्यो घटनापछि उहाँको जीवनमा नयाँ मोड आयो । तैपनि, उहाँले आफनो अध्ययन प्रक्रियालाई निरन्तरता दिनुभयो । जनमत सङ्ग्रहपछि नेपाल आउनु भएका प्रदीप गिरिले राजनीतिलाई नौलो दिशा दिनुभयो । बीपीको देहावसानपछिको अवस्थामा प्रदीपले नै वौद्धिक वहसको परम्परालाई निरन्तरता दिनुभयो ।

प्रदीप गिरि अब हाम्रा बीच हुनुहुन्न । उहाँ समानको कुनै अर्को पथ–प्रदर्शक पनि नभमा देखिएको छैन । समाजमा प्रतिदिन विकार फैलिएको छ । उहाँले राजनीतिमा धकेलेर अघि बढाएका थुप्रै व्यक्तित्वहरु नभएका होइनन् । तीमध्ये धेरै ओझेलमा परेका छन् । प्रदीप गिरिले बोक्नु भएको लोकतान्त्रिक समाजवादको मसाल कसैले न कसैले, ढिलो–चाँडो बोक्न त बोकी हाल्नेछन् तर समय घर्किदैछ । परिवर्तनका लागि अरु कति पुस्ता पर्खिनु पर्ने हो ? प्रश्न गम्भीर छ ।


प्रतिकृया दिनुहोस