२०८१ बैशाख ०८ गते शनिबार | 20 April, 2024

ट्वान्टी-२० र एकदिवसीय शृंखलाका लागि नेपाली टोली केन्या प्रस्थान

- विशेष खबर सोमबार ०६, भदौ २०७९ ०५:३१

ट्वान्टी-२० र एकदिवसीय शृंखलाका लागि नेपाली टोली केन्या प्रस्थान
तस्बिरः क्यान

काठमाडौं । पाँच ट्वान्टी–२० र ३ एकदिवसीय सिरिजका लागि केन्या भ्रमण गर्न लागेको नेपाली टोलीलाई सोमबार नेपाल क्रिकेट संघ (क्यान) ले बिदाई गरेको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अन्तर्राष्ट्रिय भ्रमणमा निस्किन लागेको टोलीलाई क्यानले बिदाई गरेको हो । टोलीलाई क्यानका अध्यक्ष चतुबहादुर चन्द, कोषाध्यक्ष रोशन सिंहलगायतले बिदाई गरेका हुन् ।

बिदाई कार्यक्रमपछि बोल्दै नेपाली टोलीका प्रशिक्षका मनोज प्रभाकरले केन्या भ्रमणका लागि टोलीको तयारी राम्रो रहेको भन्दै राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे । अहिलेको अवस्थामा नेपाली टोली कच्चा रहेको बताउँदै वर्ष दिनभित्र युवा टोलीले क्रिकेटमा राम्रो नतिजा निकाल्ने बताए ।

५ खेलको ट्वान्टी–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुनेछ । ३ खेलको एकदिवसीय सिरिज भने भदौ १७ बाट २० सम्म आयोजना हुने तालिका रहेको छ । दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ । केन्या भ्रमण नयाँ खेलाडी र पुनरागमन गरेका खेलाडीका लागि महत्त्वपूर्ण रहेको नेपाली टोलीका कप्तान सन्दीप लामिछानेले बताए।

प्रशिक्षक प्रभाकरका लागि पहिलो भ्रमण भएको र सबै खेलाडी भ्रमणका लागि उत्साहित भएको प्रतिक्रिया दिए । प्रशिक्षक प्रभाकरको प्रशिक्षणमा खेलमा नयाँपन आएको भन्दै सबै खेलाडी नयाँ शैलीको खेलका लागि उत्साहित भएको बताए ।

त्यस्तै क्यानका अध्यक्ष चतुरबहादुर चन्दले आफूभन्दा कमजोर टिमसँग पनि पराजित हुनुपरेको भन्दै अब आफू भन्दा शक्तिशाली टिमसँग प्रतिस्पर्धा गर्न लागेको बताए । उनले आईसीसीले कोरोना लगायतका विभिन्न कारण देखाएर म्याच सेड्युल नगर्दा नेपाललाई मार परिरहेको बताए ।

नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार अपराह्न ४ बजे केन्या प्रस्थान गरेको छ । केन्या भ्रमण गर्न लागेको टोलीमा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् । क्यानले लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरेको हो । जसमा ज्ञानेन्द्र मल्लले पुनरागमन गरेका छन् भने यु–१९ टोलीका विकेटकिपर अर्जुन साउद पनि टोलीमा अटाएका छन् ।

 


#नेपाल क्रिकेट संघ #क्रिकेट

प्रतिकृया दिनुहोस