२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

चार दिनभित्र उम्मेदवारहरूको नाम सिफारिस गर्न कांग्रेसकाे निर्देशन

- विशेष खबर शुक्रबार १८, चैत २०७८ ०५:४०

चार दिनभित्र उम्मेदवारहरूको नाम सिफारिस गर्न कांग्रेसकाे निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसले चार दिनभित्र वडा, गाउँपालिका र नगरपालिकामा पार्टीका तर्फबाट उम्मेदवारहरूको नाम सिफारिस गर्न निर्देशन गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामार्फत् ७५३ वटै स्थानीय तहमा परिपत्र गर्दै चैत २२ गतेभित्र उम्मेदवारको नाम सिफारिस गरी पठाउन निर्देशन दिएको हो ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीले ७५३ वटै स्थानीय तहबाट वडा सदस्य, वडाध्यक्ष, गाउँपालिका अध्यक्ष/उपाध्यक्ष र मेयर/उपमेयरका उम्मेदवारको नाम सोमबार र मंगलबारभित्र सिफारिस गरिसक्न निर्देशन गरेको बताए ।

कांग्रेसको विधानले वडाका विभिन्न पदका उम्मेदवारको नाम वडा कार्यसमिति र गाउँपालिका/नगरपालिकाका प्रमुख र उपप्रमुख पदका उम्मेदवार सम्बन्धित गाउँ/नगर कार्यसमितिबाट सर्वसम्मत भए एक जना, सर्वसम्मत नभए एक पदमा एक महिलासहित तीन जनाको नाम समावेश गरी सिफारिस गरेर पठाउनुपर्ने व्यवस्था गरेको छ । विधानअनुसार उम्मेदवार चयन गरेर पठाउन निर्देशन गरिएको प्रवक्ता महतले बताए ।

कांग्रेसले चैत्र २० गते वडा कार्यसमितिको बैठक राख्न र २१ गते वडाका उम्मेदवारको नाम माथिल्लो तहमा सिफारिस गरी पठाउन निर्देशन गरेको छ । त्यस्तै, चैत्र २२ गते पालिका तहमा बैठक बस्नेछ । बैठकले पालिकाको प्रमुख र उपप्रमुखको उम्मेदवार सिफारिस गर्नेछ भने वडा कार्यसमितिको सिफारिस बमोजिमका उम्मेदवारका विषयमा राय राखेर प्रदेशसभा क्षेत्रीय कार्यसमितिमा सिफारिस गरी पठाउनेछ । प्रदेशले प्रतिनिधिसभा क्षेत्रीय समितिलाई र प्रतिनिधिसभा क्षेत्रीय समितिले जिल्ला कार्यसमिति हुँदै प्रदेश कार्यसमितिसम्म उम्मेदवारहरूको सिफारिस गर्ने व्यवस्था छ ।

वडाध्यक्षसहित वडाका उम्मेदवारको चयन प्रतिनिधिसभा क्षेत्रीय संसदीय समितिले टुंगो लगाउनेछ भने गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार जिल्ला संसदीय समितिले टुंगो लगाउनेछ । नगरपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवार भने प्रदेश संसदीय समितिले टुंग्याउने विधानले व्यवस्था गरेको छ ।

यसरी विधानअनुसार क्रमशः तल्ला तहबाट माथिल्लो तहमा उम्मेदवारको नाम सिफारिस भइ आउने व्यवस्था छ ।

जसअनुसार चैत्र २३ गते पालिका तहले प्रदेशसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गर्नेछ भने चैत्र २४ गते प्रदेश क्षेत्रीय कार्यसमितिको बैठक बसेर रायसहित चैत्र २५ गते प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिलाई सिफारिस गरी पठाउनेछ । वडा, पालिका र प्रदेशसभा क्षेत्रीय कार्यसमितिको सिफारिस बमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले संसदीय समितिमार्फत् वडाध्यक्ष र वडा सदस्य पदका उम्मेदवारको टुंगो लगाउनेछ ।

त्यस्तै, प्रतिनिधिसभा क्षेत्रीय समितिले चैत्र २६ गते बैठक बसेर आफ्नो क्षेत्रका पालिकाको प्रमुख र उपप्रमुखका उम्मेदवारबारे रायसहित जिल्ला कार्यसमितिलाई लेखी सिफारिस गर्नेछ । जिल्ला कार्यसमितिले चैत्र २८ गते बैठक बस्ने र २९ गते प्रदेश कार्यसमितिलाई सिफारिस गर्ने कांग्रेसको परिपत्रमा उल्लेख छ ।

त्यस्तै, चैत्र ३० गते सातै प्रदेश कार्यसमितिको बैठक बस्ने र बैशाख १ गते उम्मेदवारको नामावली तय गरी केन्द्रलाई लेखी पठाउन निर्देशन छ । प्रवक्ता महतले वडा, गाउँपालिका र नगरपालिकाका उम्मेदवारको विधानअनुसारै टुंगो लगाइने बताए । ‘विधानले प्रष्ट व्यवस्था गरिदिएको छ, त्यहीअनुसार सबै तहले आन्तरिकरुपमा व्यापक बहस र छलफल गरी उम्मेदवारको टुंगो लगाउने हो,’ उनले भने, ‘हाम्रो हस्तक्षेप हुदैन, तलबाटै सर्वसम्मत सिफारिस भएर आए हामीले हस्तक्षेप गर्ने कुरा पनि हुदैन । कतिपय ठाउँमा सहमति नहुन सक्छ, त्यस्तो अवस्थामा केन्द्रमा निर्माण भएको संयन्त्रले त्यस्ता समस्यालाई किनारा लगाउने काम गर्दछ ।’

उनले महानगरपालिकाको हकमा भने महानगर कार्यसमितिको सिफारिसमा प्रदेश कार्यसमितिको राय लिएर केन्द्रीय संसदीय समितिले उम्मेदवारको टुंगो लगाउने बताए ।


#नेपाली काँँग्रेस #स्थानिय तह

प्रतिकृया दिनुहोस