२०८१ बैशाख २४ गते सोमबार | 6 May, 2024

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्ताे छ भ्रमण तालिका

- नबिन अवस्थी शुक्रबार १८, चैत २०७८ ११:०९

प्रधानमन्त्री देउवा आज भारत जाँदै, यस्ताे छ भ्रमण तालिका
फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा ५० सदस्यीय टोलीको नेतृत्व गर्दै आज दिउँसो भारतको औपचारिक भ्रमणमा जाँदै छन् । पाँचौपटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो ।

प्रधानमन्त्री देउवासहित परराष्ट्र मन्त्री नारायण खड्का, ऊर्जा मन्त्री पम्फा भुसाल, स्वास्थ्य मन्त्री विरोध खतिवडा र कृषि मन्त्री महिन्द्र राय यादव भारत जान लागेका हुन्।

प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारबाट हुने तीनदिने भारत भ्रमण ‘सद्भावना भ्रमण’ का रूपमा हुने भएको छ । सरकारले अपेक्षा गरेअनुरूप देउवाको ‘राजकीय भ्रमण’ नहुने भएको हो । तीनदिने भ्रमण दुई देशबीच सन्धि/सम्झौतामा पनि विश्वासको वातावरण बनाउन केन्द्रित हुने भएको छ ।

प्रधानमन्त्री देउवाको भ्रमणले दुई मुलुकबीच केही वर्षयता थाती रहेका समस्या समाधानका लागि कूटनीतिक संवादको बाटो खोल्ने विश्वास गरिएको छ । देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच पाँच महिनाअघि स्कटल्यान्डको ग्लास्गोमा भेटवार्ता भए पनि दुई मुलुकबीचका समस्यामाथि पर्याप्त छलफल हुन सकेको थिएन । छोटो तयारीमा हुन लागेको देउवाको नयाँदिल्ली भ्रमणले ७ वर्षयता बिथोलिएको विश्वासको वातावरण ‘ट्र्याक’ मा ल्याउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

यस्तो छ भ्रमण तालिका
प्रधानमन्त्री शेरबहादुर देउवा चार मन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डललाई नेतृत्व गर्दै शुक्रबार अपराह्न ३ बजेतिर दिल्लीमा अवतरण गर्नेछन् । त्यसपछि उनी चाणक्यपुरीस्थित होटल आईटीसी मौर्यमा पुग्नेछन् । त्यहाँ साढे ४ बजे भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता हुनेछ । त्यसपछि देउवा भाजपाको केन्द्रीय कार्यालय पुग्नेछन् । भाजपा कार्यालयको कार्यक्रम सकिएपछि देउवा दिल्लीस्थित नेपाली दूतावासले आयोजना गरेको रात्रिभोजमा सामेल हुनेछन् । दूतावासले दिल्लीमा रहेका नेपाली समुदायका प्रतिनिधिलाई पनि उक्त कार्यक्रममा बोलाएको छ ।

दोस्रो दिन शनिबार बिहान १०ः४० मा देउवाले महात्मा गान्धीको समाधिस्थलमा फूलगुच्छा अर्पण गर्ने कार्यक्रम छ । त्यसपछि औपचारिक समारोह र कार्यक्रमका लागि प्रधानमन्त्री देउवा हैदरावाद हाउस पुग्नेछन् । त्यहाँ भारतीय समकक्षी नरेन्द्र मोदीसँगको छुट्टै भेटघाट र प्रतिनिधिमण्डलको दुईपक्षीय वार्ता हुनेछ । खानापछि संयुक्त वक्तव्य जारी गर्दै त्यहाँको कार्यक्रम सकिनेछ । देउवाले अपराह्न साढे ४ बजे भारतका उपराष्ट्रपति एस बेंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गर्नेछन् । भारतका राष्ट्रपति रामनाथ कोविन्द पूर्वनिर्धारित कार्यक्रमअनुसार अप्रिल १ देखि ७ तारिखसम्म विदेश यात्रामा रहने भएकाले उपराष्ट्रपतिसँग देउवाको भेट हुने भएको हो ।

त्यही साँझ होटलमा भारतीय उद्योगी व्यवसायीसँग अन्तरक्रियामा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् । भ्रमणको तेस्रो दिन प्रधानमन्त्रीसहितको टोली बिहानै बनारसका लागि प्रस्थान गर्नेछ । भारत सरकारले विशेष विमानबाट बनारस लाने–ल्याउने व्यवस्था मिलाएको छ । त्यही दिन अपराह्न नेपाल एयरलाइन्सको नियमित विमानबाट प्रधानमन्त्री काठमाडौं फर्किनेछन् ।


#शेरबहादुर देउवा #भारत #नरेन्द्र माेदी

प्रतिकृया दिनुहोस