२०८१ बैशाख २५ गते मङ्गलबार | 7 May, 2024

प्रधानमन्त्री देउवा ओलीको निवास बालकोटमा

- विशेष खबर शनिबार १४, फागुन २०७८ ०५:५७

प्रधानमन्त्री देउवा ओलीको निवास बालकोटमा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी ओलीको निजी निवास बालकोट पुगेका छन् । देउवा पार्टीका पदाधिकारीहरूसहित एमालेसँग छलफलका लागि बालकोट पुगेका हुन् । 

अमेरिकासँगको एमसीसी सम्झौता संसद्बाट अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनमा मतभेद भएपछि प्रधानमन्त्री देउवा विपक्षी दलसँगको सहकार्यको प्रयासमा छन् । कांग्रेस–एमाले सहकार्यको बाटो खोज्न नेताहरू निरन्तर संवादमा छन् । शुक्रबार राति पनि प्रधानमन्त्री देउवा र एमालेका नेताहरूबीच छलफल भएको थियो ।

छलफलमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षद्वय विष्णु पौडेल र सुवास नेम्वाङ लगायत छन् ।

सरकारले ८ फागुनमै प्रतिनिधिसभामा एमसीसी सम्झौता टेबल गरिसकेको छ । तर, दलहरूबीचको विवादले त्यसमाथि सैद्धान्तिक छलफलसमेत हुन पाएको छैन । प्रतिनिधिसभा बैठक आइतबार पुनः बस्दैछ । बैठकमा एमसीसी सम्झौता छलफलका लागि पेस गर्ने कार्यसूची छ ।


#शेरबहादुर देउवा #केपी ओली #एमसीसी

प्रतिकृया दिनुहोस