२०८१ बैशाख १५ गते शनिबार | 27 April, 2024

टि–२० विश्वकप छनोटः क्यानडाविरूद्ध नेपालकाे सहज जित

- विशेष खबर सोमबार ०९, फागुन २०७८ ०६:३१

टि–२० विश्वकप छनोटः  क्यानडाविरूद्ध नेपालकाे सहज जित

काठमाडौं । नेपालले क्यानडाविरूद्ध ८ विकेटको सहज विजय हात पारी ट्वान्टी–२० विश्वकप छनोट क्रिकेटको सेमिफाइनल पुगेको छ । नेपालले ८१ रनको लक्ष्य १४.१ ओभरमै पुरा गरेको थियो । 

कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटमा ५८ रनको साझेदारी गरि नेपाललाई विजेता बनाए । कुशलले ३७ बल खेली ३ चौका प्रहार गर्दै ३४ र दीपेन्द्रले ३१ बल खेली ३ चौकासहित २७ रन बनाए ।

ओपनर आसिफ शेख १७ रन बनाई आउट भए । सल्मान नजरको बलमा एलबीडब्लु आउट भएका उनले १६ बल खेली १ चौका र १ छक्का प्रहार गरे । तेस्रो नम्बरमा पठाइका कुशल मल्ल आफुले सामना गरेको पहिलो बलमै कलिम सानाको बलमा बोल्ड भए ।

नेपालले मंगलबार हुने सेमिफाइनलमा यूएईको सामना गर्नेछ । विजयी हुने टोली यसै वर्ष अस्ट्रेलियामा हुने ट्वान्टी–२० विश्वकपमा पुग्ने छ । नेपाल समूह ‘बी’ को विजेता भएर यूएईसँग सेमिफाइनल खेल्ने लागेको हो । यूएई बिहान भएको खेलमा बहराइनसँग २ रनले पराजित भए पनि समूह ‘ए’ बाट उपविजेता भएर सेमिफाइनल पुगेको हो ।

आयरल्यान्डले जर्मनीलाई ७ विकेटले पराजित गरी समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह ‘ए’ विजेता आयरल्यान्डले समूह ‘बी’ को उपविजेता ओमानसँग अर्को सेमिफाइनलमा खेल्ने छ । घरेलु टोली ओमानले फिलिपिन्सलाई ९ विकेटले पराजित गर्‍यो । फिलिपिन्सलाई ३६ रनमै अलआउट गर्दै ओमानले २.५ ओभरमा ४० रन बनाउदै सजिलो विजय हात पारेको हो ।

यसअघि ओमानको मस्कटमा टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको क्यानडा १५ ओभर खेली केवल ८० रनमा अलआउट भए । सेमिफाइनलमा पुग्न क्यानडालाई यो खेल जित्नै पथ्र्यो । तर नेपाली बलरहरूका अगाडि क्यानडा तहस नहस हुन पुग्यो । कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए । उनले ४ ओभरमा १२ रन खर्चेका थिए ।

कमलसिंह ऐरीले पहिलो ओभरमै म्याथ्यु स्पुर्सलाई शुन्यमा आउट गरी नेपाललाई सानदार सुरुआत दिलाए । कमलले पाँचौं ओभरमा कप्तान नवनीत धालिवालको पनि विकेट लिए । धालिवालले १४ बल खेली २ चौका र १ छक्का प्रहार गर्दै १८ रन बनाए ।

कमलले अविनाश बोहरासँग मिलेर ओपनर रायन पठानलाई १४ रनमा रनआउट गरे । साद बिन जाफर पनि २ रनमा रनआउट भए । अविनाश ३ ओभरमा ७ रन खर्चेर २ र कुशल मल्लले १ विकेट लिए ।

अन्तिम जोडी सलमान नजर र डिल्लोन हेयलिगरले ३२ रन जोडेपछि क्यानडाको यो स्कोर पनि सम्भव भएको थियो । नजरलाई अविनाशले आउट गरे । हेयलिगरले सर्वाधिक २४ रन बनाउनेक्रममा २२ बल खेली १ चौका र २ छक्का प्रहार गरे ।

नेपालले गुलशन झाको स्थानमा कमललाई खेलाएको थियो । फिलिपिन्सविरुद्ध खेलेको अघिल्लो खेलमा कमललाई आराम दिइएको थियो भने घाइते शरद भेषावकरको स्थानमा कुशल मल्ललाई खेलाइएको थियो ।

नेपालले ओमानलाई ३९ र फिलिपिन्सलाई १ सय ३६ रनले पराजित गरि यसअघि नै सेमिफाइनलका लागि बलियो आधार बनाएको थियो । 


#नेपाल #विश्वकप छनोट #क्रिकेट

प्रतिकृया दिनुहोस