२०८१ मङि्सर १० गते सोमबार | 25 November, 2024

लुकेर सीमा पार गर्ने ११ भारतीय मुस्लिम पक्राउ

सोमबार २२, बैशाख २०७७ ०९:१४

जलेश्वर । महोत्तरीमा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् ।

जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताए।

हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताए । पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् ।

उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् । लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर आज मिर्मिरे बिहानीमै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ । उनीहरुलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय, प्रशासनसहितसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने वा कहाँ के गर्नेबारे तय गरिने वडाध्यक्ष रायले बताए ।


#पक्राउ

प्रतिकृया दिनुहोस