२०८१ जेठ ०२ गते बुधबार | 15 May, 2024

कांग्रेसका १० वटा भ्रातृ संस्था भंग, नयाँ तदर्थ समिति गठन गर्ने निर्णय

- विशेष खबर मङ्गलबार ०३, फागुन २०७८ ०६:३८

कांग्रेसका १० वटा भ्रातृ संस्था भंग, नयाँ तदर्थ समिति गठन गर्ने निर्णय
फाइल तस्बिर।

काठमाडौं । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले १० वटा भ्रातृ संस्थाका केन्द्रीय कार्यसमिति भंग गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालयमा मंगलबार बसेको समितिको बैठकले म्याद सकिँदा पनि भ्रातृ संस्था अधिवेशन गर्न नसकेका १० वटा भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गरी नयाँ तदर्थ समिति गठन गर्ने निर्णय गरेको हो । तदर्थ समिति गठनको अधिकार भने सभापति शेरबहादुर देउवालाई दिइएको छ । 

प्रवक्ता प्रकाशशरण महतले म्याद समाप्त भइसकेका भ्रातृ संस्थाहरू स्वतः विघटन भएकाले फागुन मसान्तभित्र केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार सभापति देउवालाई दिइएको जानकारी दिए । उनका अनुसार नेपाल विद्यार्थी संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज, नेपाल महिला संघ, नेपाल तरुण दल, र नेपाल भूतपूर्व सैनिक संघका केन्द्रीय समितिहरू भंग गर्ने निर्णय गरेको हो ।

बैठकले नेपाल दलित संघको हक भने केन्द्रीय महाधिवेशन गर्न निर्देशन गरेको छ । प्रवक्ता महतले दलित संघको सबै जिल्ला अधिवेशन भइसकेकाले आगामी चैत्र ७, ८, ९ र १० गते अधिवेशन गर्न निर्देशन गरिएको बताए ।

बैठकले पार्टी विधानबमोजिम भ्रातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारीहरू महाधिवेशनबाट पार्टीका विभिन्न पदमा निर्वाचित भएको भए उनीहरूको पद स्वतः रिक्त भएको भन्दै ती पदमा पदपूर्ति गर्ने निर्णय गरेको छ । बैठकले अवधि समाप्त भएका शुभेच्छुक संस्थाहरुलाई समेत तत्काल अधिवेशन सम्पन्न गराउन निर्देशन गरेको छ ।


#काँग्रेस #भ्रातृ संस्था #तदर्थ समिति

प्रतिकृया दिनुहोस