२०८१ बैशाख १७ गते सोमबार | 29 April, 2024

वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न आयोगकाे प्रस्ताव

- विशेष खबर शुक्रबार ०९, पुष २०७८ ०७:५१

वैशाख १४ गते स्थानीय तहको निर्वाचन गर्न आयोगकाे प्रस्ताव

काठमाडौं । निर्वाचन आयोगले आगामी वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले  पहिलो चरणमा वैशाख १४ गते र दोस्रो चरणको २२ गते निर्वाचन गर्न सकिने जानकारी गराएका हुन् ।

स्थानीय तहका पदाधिकारी पदावधि जेठ ५ गते सकिँदै छ । स्थानीय तह सञ्चालन ऐन अनुसार पदावधि सकिनु २ महिनाअघि निर्वाचन गरिसक्नु पर्ने व्यवस्था छ ।

'सम्पूर्ण सुरक्षा व्यवस्था मिलाई सबै स्थानीय तहको निर्वाचन एकै दिन गर्नु उपयुक्त हुने हुँदा २०७९ वैशाख १४ गते बुधबारका दिन निर्वाचनको मिति तोक्न उपयुक्त हुने र यदि कुनै कारण एकै दिन निर्वाचन गर्न संभव नभएमा पहिलो चरणको वैशाख १४ गते बुधबार र दोस्रो चरणको वैशाख २२ गते बिहीबार गर्न सकिने व्यहोरा प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी गराउनुभएको थियो,' आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

संविधानको धारा २२५ बमोजिम कार्यकाल समाप्त भएको ६ महिनाभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था छ । कार्यकाल समाप्त भएपछि स्थानीय तह संचालनसम्बन्धी कुनै स्पष्ट कानुनी व्यवस्था नभएकोले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ बमोजिम कार्यकाल समाप्त हुनुभन्दा २ महिनाअघि नै निर्वाचन गर्न आयोगले प्रस्ताव गरेको हो ।

निर्वाचन तयारीका लागि आयोगलाई १२० दिन आवश्यक पर्ने आयोगले जनाएको छ । आजकै दिनलाई आधार मान्दा प्रस्तावित निर्वाचन आउन १ सय २४ दिन बाँकी छ ।


#निर्वाचन आयोग

प्रतिकृया दिनुहोस