२०८१ बैशाख १६ गते आइतबार | 28 April, 2024

कांग्रेस महाधिवेशनको मञ्चमा सबै दलका शीर्ष नेता, कसले के भने ?

- विशेष खबर शुक्रबार २४, मङि्सर २०७८ ०५:५९

कांग्रेस महाधिवेशनको मञ्चमा सबै दलका शीर्ष नेता, कसले के भने ?
नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सहभागी नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायत शीर्ष नेताहरू । तस्बिरः रासस ।

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन कार्यक्रममा सबै देलका शीर्ष नेताहरु पुगेका छन् । मञ्चमा पार्टी फुटेपछि पहिलो पटक माधव नेपाल र पुष्पकमल दहालसँगै केपी ओली बसेका छन् । दाहाल र नेपाल प्रधानमन्त्री शेरबहादुर देउवाको दायाँतर्फ बसेका छन् भने बायाँतर्फ कार्यक्रममा केही ढिलो गरी पुगेका ओली बसे । जनता समाजवादी पार्टी फुटाएर छुट्टै पार्टी खोलेका महन्थ ठाकुरसँगै उपेन्द्र यादव एकै सोफामा बसे । हेर्नुहाेस कसले के भनेः

'केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता छ' : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले केहीलाई कांग्रेसले औंला छाड्ला कि भन्ने चिन्ता रहेको बताएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै ओलीले देश बनाउने विषयमा एकै स्थानमा रहेको बताए । 

'केही केहीलाई कांग्रेसको औंला समाउन नपाउने हो कि भनेर चिन्ता रहेको छ,' ओलीले भने, 'राष्ट्रियता, लोकतन्त्र, विकास सुशासन, सामाजिक न्यायको विषयमा एकै स्थान छ । हामी यो विषयमा सहकार्य गर्छौं ।'

नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाली कांग्रेससँग सहकार्य रहेको छ ।

कार्यक्रममा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपालप्रति व्यंग्य गरेका थिए ।

एक्लै हिँड्ने अहंकारीको ओरालो यात्रा सुरु हुन्छ : दाहाल 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक दलहरूमा एकता र सहकार्य हुनुपर्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा सम्बोधन गर्दै दाहालले राजनीतिक दलहरूबीच समझदारी कायम गरेर सुशासन र विकासमा लाग्नुपर्ने बताएका हुन् । 

कांग्रेसका केही नेताले एक्लै हिँड्नुपर्छ भन्ने बताएको भन्दै दाहालले भने, 'एक्लै हिँड्ने अहंकार गर्न खोज्दा ओरालो यात्रा सुरु भएको भन्ने नेपालको इतिहासले देखाएको छ ।' कांग्रेस महाधिवेशनले राजनीतिक दलहरूको बीचमा समझदारी कायम गरी सुशासन र विकासको नयाँ युगतिर लाने नेतृत्व चयन गरोस् भन्ने आफ्नो चाहना रहेको दाहालको भनाइ थियो ।

'नेपालमा राजतन्त्रको कुनै भविष्य छैन,कुनै सम्भावना छैन' : नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष नेपालले नेपालमा राजतन्त्रको भविष्य नभएको बताएका हुन् ।

उनले नेपालको राजनीतिमा कालो बादल मडारिन खोजिरहेको बताउँदै राजतन्त्रलाई फेरि शीर उठाउने दुस्साहस नगर्न चेतावनी दिए । अध्यक्ष नेपालले पूर्वराजाले पनि पार्टी खोलेर राजनीतिमा आउन वा व्यापार गरेर बस्न सुझाव दिए।

विगतका कमजोरी हटाएर राजनीतिक दिशाहीनता अन्त्य गर्नुपर्छ : यादव 

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक दलहरूले विगतमा गरेका राजनीतिक कमजोरी हटाएर अगाडि बढ्नुपर्ने बताएका छन् । 

नेपाली कांग्रेसको १४ महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै अध्यक्ष यादवले भने, 'विगतमा भए, गरेका कमीकमजोरीहरू हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योल अन्त्य गर्नुपर्छ ।' संवैधानिक अंगहरूलाई क्रियाशील र निष्पक्ष बनाएर मुलुक अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । 'संवैधानिक निकायहरूलाई अझ सक्षम, निष्पक्ष, क्रियाशील र प्रभावकारी गर्नुपर्छ । संघीय लोकतान्त्रिक गणतन्त्रको लागि कांग्रेसको यो महाधिवशेन सार्थक सिद्ध होस्,' उनले भने ।

यादवले संघीय व्यवस्थालाई सुदृढ गर्नका लागि कांग्रेससहित अरु सबै राजनीतिक दलहरू अगाडि बढ्नुपर्ने बताए ।

मुद्दा सम्बोधन नभए तराईमा फेरि ज्वालामुखी विस्फोट हुन सक्छ : ठाकुर

लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले मुद्दाको विषयमा सम्बोधन नभए तराईमा फेरि ज्वालामुखी विस्फोटन हुने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै उनले अहिले संविधानमा अहसमति रहेको सम्बोधन र आन्दोलनको क्रममा भएको सहमति कार्यान्वन नुहँदा त्यसले ज्वालामुखी विस्फोट हुने बताए । 

ठाकुरले आन्दोलनको क्रममा लागेको नेताहरुको मुद्दा फिर्ता नभएको र नेताहरु जेलमा रहेको भन्दै त्यसलाई सम्बोधन हुनुपर्ने बताए । 'हाम्रो असन्तुष्टि कायम छ । यो संविधानमा थारुहट मधेसमा असन्तुष्टि प्रकट हुन थाल्यो । अन्तत: आन्दोलनको रुप लियो । थारुहट आन्दोलनमा संयुक्त लोकतान्त्रिक मोर्चासँग गरेको थियो,' ठाकुरले भने, 'हाम्रो आन्दोलनलाई गोली र लाठीले दबाब खोजियो । त्यसक्रममा ठूलो जनधनको क्षति भयो । अहिले पनि हाम्रो नेताहरु जेलमा हुनुहुन्छ र माग पनि सम्बोधन भएको छैन । यसले ज्वालामुखीको रुपमा लिन सक्छ ।'

‘सरकार सरकार जस्तो छैन, संसद् संसदजस्तो छैन, अदालत अदालत जस्तो छैन' : लिङ्देन

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले सबै राजनीतिक दलहरूले विश्वास गुमाएको बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशनमा सम्बोधन गर्दै उनले  राजनीतिक आम जनताको दृष्टिकोणबाट हेर्दा लिक बाहिर गएको उल्लेख गरे ।

‘म यतिबेला सबै राजनीतिक दलहरुलाई आग्रह गर्न चाहन्छु । देशको राजनीति अहिले आम जनताको दृष्टिकोणमा लिकबाट बाहिर गएको देखिन्छ’ उनले भने,‘‘सरकार सरकार जस्तो छैन, संसद् संसद्‌ जस्तो छैन, अदालत अदालत जस्तो छैन । यो सबलाई ठीक लगाउने कसले ? यसलाई ठीक लगाउने राजनीति हो । तर राजनीति ठीक छैन । यो राजनीति ठीक लगाउने नेताहरूले हो । तर नेताहरूले पूर्ण रुपमा विश्वास गुमाएको अवस्था छ ।’

उनले कांग्रेस महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेताहरूप्रति अहिले जनताको विश्वास गुमेको उदाहरण दिए । भने– ‘हाम्रो गाउँ घरतिर पार्टीको कार्यकर्ताले नेता आउँदा र छिमेकलाई आमन्त्रण गर्न जान्छ । तर नेताको नाम सम्झिदैनन् कुन चाँहि चोर आएछ आज भन्छन् । हाम्रो अवस्था यस्तो छ ।’

नयाँ चरणको शीतयुद्धले नेपाल अप्ठ्यारो अवस्थामा : मैनाली

नेकपा (माले)का महासचिव सीपी मैनालीले नयाँ चरणको शीतयुद्धको कारण नेपाल अप्ठ्यारो अवस्थामा पुगेको भन्दै त्यस विषयमा ध्यान दिनका लागि आग्रह गरेका छन् । नेपाली कांग्रेसका १४ औं महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै मैनालीले राष्ट्रियताको विषयमा ध्यान दिने बेला आएको बताए ।

'अहिलेको शीतयुद्धमा उत्तरबाट एउटा र दक्षिणतर्फको शीत छ । दक्षिणतर्फ भनेको समुद्रा पारिबीच शीतयुद्ध छ । हिजोभन्दा बढी असंलग्नको आवश्यकता छन्,' मैनालीले भने, 'अघिल्लो शीतयुद्धमा भन्दा बढी नोक्सानी भोग्नु पर्छ । राष्ट्रिय प्रजातन्त्र र समाजवाद लेखेको छ । कांग्रेसको ध्यान राष्ट्रियतामा जाओस् ।'


#नेपाली काँँग्रेस #महाधिवेशन #शीर्ष नेता

प्रतिकृया दिनुहोस